उदयपुर । उदयपुरमा पाँचौं राष्ट्रिय योग दिवस शुरु भएको छ । योग दिवसको अवसर पारेर उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा निःशुल्क योग शिविर आयोजना गरिएको हो ।
‘योग गरौं, निरोग रहौं’ भन्ने मूल नाराका साथ निःशुल्क योग शिविर शुरु भएको हो । सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास पाँच दिनसम्म चल्ने छ ।
कार्यक्रमको शुरुवात जिल्ला समन्वय समितिका संयोजक खड्ग बहादुर परियारको प्रमुख अतिथ्यतामा निःशुल्क योग शिविर संचालन भएको हो । उनले योगले शारीरिक तथा मानसिक रुपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले सरकारले यसलाई जोड दिएर राष्ट्रिय दिवसको रुपमा मनाउने गरेको पनि जानकारी दिए ।
शारीरिक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढदै गएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । यसैकारण संयुक्त राष्ट्र संघको आह्वानमा विश्वमा अन्तराष्ट्रिय योग दिवस मनाउन सुरु गरिएको मेयर चौधरीले बताए ।
निःशुल्क शिविरको अध्यक्षता सगरमाथा आयुर्वेद औषधालय उदयपुरका प्रमुख डा. संजिव कुमार यादवले गरेका थिए । शिविर असार ६ गतेसम्म संचालन हुने छन् ।









