उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा विषादीयुक्त (कारबाइड) प्रयोग गरेको आँप छ्यापछ्याप्ती पाईरहेको छ । गाईघाट बजारमा स्थानीय र भारतीय आँपलाई कारबाइड प्रगोग गरेको विषादीयुक्त आँच छ्यापछ्याप्ती पाएपनि सरोकारवाला निकायहरु मौन रहेको उपभोक्ताहरु बताउँछनन् ।
गत वर्षको तुलनामा उदयपुर, सिरहा र सप्तरीमा आँपको उत्पादनमा कमी भएकोले केही व्यवसायीहरुले भारतीय आँप ल्याउने गरेको उपभोक्ताहरुको गुनासो रहेको छ । आँप हेर्दा खाउँ खाउँ लाग्ने तर स्वाद नभएको विषादीयुक्त आँप रहेको त्रियुगा नगरपालिका ११ का उपभोक्ता कमल राउतले बताए । उनका अनुसार आँप हेर्दा हामी कहाँ पाउने आँप भन्दा राम्रो देखिने तर आँपको कुनै स्वाद नभएको बताए । उनले भने, ‘अहिले आफै पाक्ने आँपहरु मध्ये बम्बै र सरही आँपहरु मात्रै हुन तर यहाँ कलकत्ते, मालदह लगायतका आँपहरु पनि कारबाइड प्रयोग गरेर पकाइएको पाइयो ।’
कारवाइड प्रयोग गरिएको आँप खाँदा छालाको रोग, पेट दुख्ने, वान्ता हुने लगायतका शारीरिक समस्या उत्पन्न हुनुका साथै गम्भिर प्रकारको क्यान्सर समेत हुन सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् । कृषि विज्ञान केन्द्र उदयपुरका प्रमुख वरिष्ठ कृषि अधिकृत सरोजकान्त अधिकारीका अनुसार नेपालमा प्रतिबन्धित कारवाईड प्रयोग गरेर पकाईएको आँप गाईघाट लगायतका बजारमा खुलेआम बिक्री भईरहेको छ ।
बजारमा खुल्लेआम विषादीयुक्त आँप विक्री वितरण भईरहँदा पनि अनुगमन गर्ने आधिकारिक निकाय जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, त्रियुगा उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च लगायतका संस्था मौन रहेको स्थानीय उपभोक्ताहरुको गुनासो छ ।
कारवाईड प्रयोग गरेर पकाइएको आँप हेर्दा पहेलो, लोभलाग्दो र आकर्षक देखिने भएपनि मानव स्वास्थ्यका लागि हानिकारक हुने गरेका गाईघाट सिभिल हस्पिटलका डा. अजिजले बताए । उनले भने, ‘नेपालमा कारवाईड प्रतिबन्धित छ, यसले आँप पकाउन पाइदैन ।’
कारवाईड प्रयोग गरेर पकाईको आँपको भेट्ना आसपास साह्रो हुन्छ, भने आँपको अन्य ठाउँ कमलो हुन्छ, पाकेको देखिन्छ । चिकित्सकका अनुसार कारवाईड प्रयोग गरेर पकाइएको आँपको रंग, स्वाद र बास्ना पनि विकास भएको हुँदैन । कारवाईडबाट ग्यास निस्कन्छ, जसले आँप पकाउन मद्दत गर्छ । कारवाईड प्रयोग गरेर पकाएको आँप खाँदा क्यान्सर समेत हुने भएकाले नेपालमा यसको प्रयोग बन्द गरिएको हो ।

तपाईको प्रतिक्रिया