उदयपुर । उदयपुरमा एक व्यक्तिसँग दुई वटा नागरिकता रहेको फेला परेको छ । जिल्लाको कटारी नगरपालिका ४ स्थायी ठेगाना भएकी एक महिलाले वडा अध्यक्षको सिफारिसमा दोहोरो नागरिकता लिएकी छिन् ।
साबिक कटारी नगरपालिका ३ हाल कटारी नगरपालिका ४ गबुवा घर भएकी धनमाया राईले दोहोरो नागरिकता लिएको प्रमाण फेला पारेको छ । २०५२ साल वैशाख ४ गते जन्मिएकी दर्वजीत राई र मनसरि राईकी छोरी धनमायाले उदयपुर र सिन्धुली जिल्लाबाट भिन्न नामका दुई नागरिकता लिएको खुलेको छ ।
धनमाया राईले पतिको नामबाट (धनमाया राई) र बाबुको नामबाट शीतल राईको नाममा नागरिकता लिएकी छिन् । धनमायाको २०६७ सालमा जातीय परम्परा अनुसार दुधौलीको प्रकाश राईसँग विवाह भएको थियो । विवाह भएको दुई वर्षपछि हालको दुधौली नगरपालिका साबिकको कुकुर ठाकुर गाविसमा विवाह दर्ता भएको थियो । सोही दर्ता अनुसार श्रीमानको नामबाट धनमाया राईका नाममा नागरिकता लिएकी थिईन् । पतिको सनाखतबाट सिन्धुली जिल्ला प्रशासन कार्यालयबाट २०६९ माघ २३ गते २०÷०१ र ६९÷०३३७५ नम्बरको पहिलो नागरिकता लिएको देखिन्छ ।
उनले दोस्रो नागरिकता शीतलको नामबाट कटारी नगरपालिका ४ को सिफारिसमा इलाका प्रशासन कार्यालय कटारीबाट मिति २०७४ भदौं २९ गते १४÷०२ र ७४÷०१४१२ नम्बरको दोस्रो नागरिकता लिएको देखिन्छ । धनमायालाई नाम फेरेर शीतलको नाममा दोस्रो नागरिकता दिन कटारी नगरपालिका ४ का अध्यक्ष कृष्णराज दनुवारले सिफारिस गरेका छन् ।
सिन्धुली जिल्ला प्रशासनबाट लिएको पहिलो नागरिकता लिएकी धनमायाको पति प्रकाशसँग मनमुटाब सुरु भएपछि दोस्रो नागरिकता कटारीबाट नाम फेरेर लिएको देखिएको छ । यसरी एउटै व्यक्तिलाई फरक ठेगानामा दुई भिन्ना भिन्दै नामको दुई वटा नागरिकता लिनको लागि स्थानीय प्रशासनले आर्थिक चलखेल गरी सिफारिस गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।

तर, दोस्रो नक्कली नाममा एउटै व्यक्तिको दोहोरो नागरिकताको सिफारिस गरेका कटारी नगरपालिका ४ का अध्यक्ष कृष्णराज दनुवारले पहिलो नागरिकता लिएको जानकारी नभएकाले मैले दोस्रो नागरिकताको लागि सिफारिस गरेको स्वीकार गरेको छ । उनले भने, ‘यदि एउटै व्यक्तिका दुईवटा नागरिकता भए एउटा खारेज हुन्छ ।’ नागरिकता प्रदान गर्ने इलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेलले स्थानीय वडाअध्यक्षले नागरिकता दिने आवश्याक सम्पूर्ण कागजात सहित सिफारिस गरेकोले यसको जिम्मेवार वडा अध्यक्ष हुनुपर्ने बताए । यता उदयपुरका प्रमुख जिल्ला प्रशासन अधिकारी धु्रब बहादुर खड्काले यदि एकै व्यक्तिले दुईवटा नागरिकता लिएको भए नागरिकता ऐन अनुसार नागरिकता लिने र दिने दुवैलाई कारबाही हुने बताए । नागरिकता ऐन २०७५ अनुसार यदि कसैले झुटो विवरण दिएर दोहोरो नागरिकता लिएमा ५ वर्षसम्म कैद र २० हजार देखि एक लाखसम्म जरिवाना हुने व्यवस्था छ भने सिफारिस गर्ने व्यक्तिलाई समेत कानूनी कारबाही हुने व्यवस्था छ ।










