राजेन्द्र महतो, लहान । सिरहाको लहान स्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पले नीजि तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई विपद् ज्योखिम न्यूनीकरण सम्बन्धी जनचेतना अभियान संचालन गरिरहेको छ ।
गत वैशाख देखि शुरु गरेको सो अभियानमा लहान नगरपालिकाको पेरागन, लिटिल स्टार, मेरी चिल्ड्रेन, एपोलो ॐ, बस्तीपुर उच्च माध्यमिक विद्यालय र शारदा उच्च माध्यमिक विद्यालय लगायतका विद्यालयहरुका विद्यार्थीहरुलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धि प्रशिक्षण दिएको लहान बेस क्याम्पका डि.एस.पि. प्रेम रावलले जानकारी दिए ।
बाढी, पहिरो, भूकम्प, आगलागी आदि जस्ता प्रकोपहरु जुन पूर्वानुमान गर्न सकिँदैन । यस्ता प्रकोपको समयमा र प्रकोपपछि आउन सक्ने परिस्थितिलाई उचित व्यवस्थापन गर्न पूर्वतयारी तथा आधारभूत सीपहरुको विकास सबैमा हुनु आवश्यक रहेकोले यस बारे विद्यार्थीलाई जानकारी गराईएको डिएसपी रावलले बताए ।

विद्यालय बालबालिकाहरुको जमघट हुने क्षेत्र हो । यस्तो क्षेत्रमा बिपद् व्यवस्थापन र जोखिम न्यूनीकरण एउटा प्रमुख विषय भएकोले शारीरिक र मानसिक रुपमा सबल भई नसकेका बालबालिकालाई सीमित संख्यामा रहेका शिक्षकको निगरानीमा राखिने र प्राकृतिक प्रकोपको अवस्थामा उनीहरुलाई सुरक्षित र भयरहित राख्न बिपद् व्यवस्थापन सम्बन्धी सीपहरु शिक्षक तथा विद्यार्थीहरुमा हुनु अत्यावश्यक रहेको डिएसपी रावलले बताए ।
विद्यालयले सञ्चालन गर्ने बिपद् व्यवस्थापन तथा जोखिम न्युनिरकण सम्बन्धी कार्यक्रम मुख्यतः विद्यालयमा अध्ययनरत बालकालिकामा केन्द्रित रहेको छ । बालबालिकालाई सुरक्षित र भयरहित वातावरणमा सिकाई गर्ने विद्यालयको उद्देश्य रहेको हुँदा उनीहरुलाई नै परिचालन गरी कार्यक्रम सञ्चालन गरिएको डिएसपी रावलले बताए ।
शिक्षक तथा कर्मचारी बालबालिकासँग प्रत्यक्ष सम्बन्धित हुने हुनाले उनीहरुलाई समेत लक्षित गरेर कार्यक्रम सञ्चालन गरिने छ । बालबालिका मार्फत दिइएको सीप तथा चेतनाको प्रभाव समुदाय स्तरमा दीर्घकालिन रुपमा पर्ने हुनाले उनीहरुमार्फत नै आफ्ना घरपरिवारमा समेत जानकारी गराउने हुँदा यस कार्यक्रमको आयोजना गरिएको डिएसपी रावलले बताए ।
उक्त अभियान प्रत्येक विद्यालयहरुमा निरन्तरता दिई रहने डिएसपी रावलले जानकारी दिए ।











