उदयपुर । पानी नपर्दा मकै बोट मै मर्न थालेपछि उदयपुरका कृषक चिन्तित भएका छन् । लामो समय देखि आकाशबाट पानी नपरेपछि मकैका बोटहरु मर्न र सुक्न थालेका हुन् । उदयपुर त्रियुगा नगरपालिका–३ मोतिगडाका एक कृषकले छरेको मकै सुकेको अवस्थामा छ । उदयपुरका अहिले अधिकांश कृषकको मकै यसरी नै सुकेको कृषकहरुको भनाई छ । कृषकहरुका अनुसार मकै यसरी नै सुके के खाने, पानी नपरे धानको विउको व्याड कसरी लगाउने चिन्तामा रहेका छन् ।
जिल्लाको त्रियुगा, चौदण्डीगढी, बेलका नगरपालिकाको साथै ताप्ली, लिम्चुङबुङ, उदयपुरगढी लगायतका अधिकांश ठाँउमा पानी नपरेपछि मकैका बोटहरु धमाधम मर्न थालेको कृषकहरुको भनाई रहेको छ । बैशाखको पहिलो सत्तामा छरेका मकै छरे पनि पानी परेका थिए तर जव जेष्ठ लागेपछि नै पानी नपरेपछि बोटहरु मर्न थालेको त्रियुगा नगरपालिका–३ मोतिगडाका कृषक शंकरलाल चौधरीले बताए । कुनै ठाँउमा छरेका मकैहरु मर्न थालेका छन् । पानीको प्रतिक्षा गर्दा गर्दै यस पाली त मकैको बोटहरु मर्न थालेका छन दुःख मान्दै चौधरीले बताए । पानी नपर्दा धानको व्याड पनि कहिले राख्ने टुङ्गो छैन् । उनले पहिले पहिलेका समयलाई सम्झदै भने पहिलेको जस्तो पानी कहिले आउने, पानी पर्न थालेपछि एक हप्तासम्म आइरहने हुन्थ्यो तर अहिले एक घण्टा पनि नपरेपछि कृषकले कसरी धान, मकै, गहु र तरकारी लगाउने गुनासो सुनाए ।
खेतबारीमा छरेको मकै पनि पानी नपरेपछि सबै सुकेर मर्न थाल्यो ताप्ली गाउँपालिका–३ का कटकबहादुर तामाङले बताए । उनका अनुसार पानी नपर्दा मकै सुक्न लागेको छ भने गर्मीले जनजिवन प्रभावित भएको छ ।मुटु फुट्ने गरि खेतमा मकै छरियो तर अहिले सबै मरेर खरानी हुन थाल्यौ, परिश्रम गरेका हात देखाउदै उदयपुरगढी गाउँपालिका ५ का विमला लायोमगरले बताए । कृषकको भाग्य नै कस्तो कहिले हावा हुरि कहिले असिना पानी कहिले खडेरीले हामी किसानको परिश्रमको फल लगि दिन्छ लायोमगरले भनिन् ।
लामो समयदेखि पानी नपर्दा जिल्लाका अधिकांश पानीको मुहान पनि सुक्न थालेको छ । पानीका मुहान सुक्न थालेपछि गाँउ गाँउमा पानीको हाहाकार हुन थालेको कटारी नगरपालिका ३ का स्थानीय रोशन दनुवारले बताए ।
पानी नपर्दा मकै छर्न पाइएनन्, खेत सुख्खा
ताप्ली गाउँपालिकाको बिभिन्न वडामा मकै बाली लगाउने सिजन सकी सक्दा समेत पानी नपर्दा बारी बाँझै छाड्न बाध्य भएका छन् । ताप्लीको रुपाटार, रामपुर, मादले, कटहरे, तिल्केचौर, थुम्की, जतनपुर, सिम्ले लगायतको क्षेत्रमा मकै बाली लगाउने सिजन सकिएपनि पानी नपर्दा किसान चिन्तित भएको ताप्ली गाउँपालिका ५ ढुङ्गेका दिनेश मगरले बताए । उनका अनुसार यस क्षेत्रमा खोला नाला तथा पानीको मुहान सुख्खा भै सिचाइँ गर्न समेत समस्या भएको छ ।
यस्तै लिमचुङबुङ गाउँपालिकाको भाते, बुत्कु, ज्यामिरे लगायतको स्थानमा पानी नपर्दा किसान चिन्तित छन् । अवको दिनमा के खाउँ के लाउँको अवस्थामा पुगेको स्थानीय बताउँछन् ।
पानी लामो समय देखी नपरेकोले उदयपुृरको खाद्य उत्पादनमा यस वर्ष ह्राँस आउन सक्ने कृषि ज्ञान केन्द्र उदयपुरका वरिष्ठ कृषि विकास अधिकृत सरोजकान्त अधिकारीले बताए । उनका अनुसार उदयपुरमा मकै उत्पादनका हिसावले राम्रो जिल्लाको रुपमा रहेको अधिकारीको भनाई छ । आर्थिक वर्ष २०७४÷०७५ मा १७ हजार हेक्टर क्षेत्रफलमा करिव ३५ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो । यस वर्ष पानी नपर्दा मकैको उत्पादनमा कमी आउने अधिकारीले बताए ।









