उदयपुर । १२ औं गणतन्त्र दिवसको अवसरमा उदयपुर कारागारबाट ६ जना कैदी जेल मुक्त भएका छन । गणतन्त्र दिवस, २०७६ को उपलक्ष्यमा जिल्ला कारागार उदयपुरका असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका नेपालको संविधानको धारा २७६ बमोजिम माफी पाएर छुटेका हुन ।
जिल्ला कारगारका जेलर सिताराम कार्कीका अनुसार सवारी ज्यान मुद्धमा कैदी भुक्तानी गरिरहेका बेलका नगरपालिका ९ का उपेन्द्र विष्ट, ज्यान उद्योग र चोरीका मुद्धाका कैदी भुक्तानी गरिरहेका साविकको चौदण्डीगढी गाँउ विकास समितिका साने भन्ने डम्बर बहादुर तामाङले आममाफी पाएर छुटेका छन ।
यसैगरी वन मुद्धमा कैदी भुक्तानी गरिरहेका चार जना रहेका छन । जसमा त्रियुगा नगरपालिका १३ घर भएका उत्तम भुजेल र गणेश दनुवार रहेका छन, भने त्रियुगा नगरपालिका ६ का महिन भन्ने महिन्द्र चौधरी र विश्वनाथ चौधरीले माफी पाएर छुटेको जेलर कार्कीले जानकारी दिए ।
जिल्ला कारगार उदयपुरमा कैदी र बन्दी महिला पुरुष गरी एक सय ७८ जना रहेका छन । ६ जना छुटेपछि अहिले एक सय७२ जना बाँकी रहेको पनि कार्कीले बताए ।









