उदयपुर । त्रियुगा नगरपालिकाको आयोजनामा संचालन हुन लागेको वृत्ति परामर्श तथा रोजगार मेलामा २ सय ५० भन्दा बढी युवाहरुले प्रत्यक्ष रुपमा छनौट भएर रोजगार पाउने छन् । बुधबार पत्रकार सम्मेलन गरेर सो जानकारी दिएका हुन् ।
त्रियुगा नगरपालिका, त्रियुगा उद्योग बाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुर, प्रधानमन्त्री रोजगार कार्यक्रमको आयोजनामा जेष्ठ १७ गते (शुक्रबार) विकास निर्माण, होटल, कलकारखानाका लागि २ सय ५० भन्दा बढीले रोजगार पाउने भएका छन् । प्राविधिक, प्रशासनिक क्षेत्रका व्यक्तिका साथै श्रमिक वर्गको सहभागी रहने मेलामा उद्योग÷व्यवसाय लगायत अन्य क्षेत्रका रोजगारदाताको तर्फबाट माग भएका कामदारको आधारमा छनौट गरिने त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले प्रेव विज्ञप्ती जारी गर्दै जानकारी दिए । त्रियुगा नगरपालिकाले एक सय जना, नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरले ७३ जना र त्रियुगा उद्योग वाणिज्य संघले ८० जनालाई रोजगार दिने कार्यक्रम रहेको छ ।

विज्ञप्तीमा वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी दिईने, सीपमूलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिम बारे जानकारी दिइने, रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिमकहरु सम्बन्धी जानकारी दिईने, स्थानीय उत्पादनहरु प्रदर्शनी गरिने र रोजगारको अवसर प्राप्त गर्न सकिने जनाएको छ ।
त्रियुगा नगरपालिकाबाट पलायन हुन लागेका जनशक्तिलाई उद्योग÷व्यवसाय लगायतका क्षेत्रले जनशक्तिको अभाव भोग्नु परिरहेको वर्तमान अवस्थामा आयोजन ागर्न लागिएको वृत्ति परामर्श तथा रोजगार मेलाबाट रोजगारदातालाई आवश्यकता अनुसारको जनशक्ति उपलब्ध हुने विश्वास लिईएको छ ।

मेलामा करिव ३ हजार जनासम्मको सहभागिता हुने अनुमान गरिएको मेयर चौधरीले जानकारी दिए । नगरपालिकाले एक सय जनालाई दिन लागेको रोजगार कार्यक्रममा १६ वटै वडाबाट कम्तीमा १० जनालाई रोजगारको लागि छनौट गर्नु पर्ने मेयर चौधरीले बताए । १० जनामध्ये गरिव, विपन्न, खान लगाउन नपुग्ने, एकल महिला लगायतका सुचकलाई आधार मानेर प्रत्येक वडाका वडाध्यक्षले छनौट गरेर पठाउनु पर्ने छ । वडाले छनौट गरेका बाहेक रोजगार मेलामा प्रत्यक्ष रोजगारदातामा पनि आवेदन दिन सकिने छ ।
मेलाको उद्घाटन कार्यक्रममा संघीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको समेत उपस्थिति रहने छ ।
कार्यक्रमलाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, हेल्भेटास नेपाल, त्रियुगा नमुना सीप माध्यमिक विद्यालय, जिल्ला होटल व्यवसायी संघ र व्यवसायिक तालिम प्रदायक संघ प्रदेश नं. १ को समेत सहयोगी भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया