उदयपुर । उदयपुरको रौतामाई गाँउपालिका ७ मुर्कुची बजारस्थित थापा जडीबुटी प्रशोधन केन्द्रमा बिहीबार साँझ भएको आगलागी घटनालाई प्रहरीले रहस्यमय रहेको जनाएको छ ।
विगत १५ दिन यता बजार आसपासका क्षेत्रमा श्रृखलाबद्ध आग्जनीका घटनाहरु घटेसँगै प्रहरीले घटनालाई सुक्ष्म अनुसन्धान सुरु गरेको हो । ‘दैनिकजसो वंगुरका खोर, मतान, परालमा आगलागीका घटनाहरु घटेको स्थानीयबाट जानकारी आएको छ,’ घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रदेव राईले भने, ‘त्यहीँ श्रृखलाबाट यो घटना पनि घटेको हुन सक्ने हाम्रो अनुमान छ, चाँडै अनुसन्धान गरी बाहिर ल्याउँछौ ।’


एसपी राईले लगातार घटना घटेको बारे प्रहरीलाई जानकारी नहुँदा पनि यो ठूलो घटना घटेको बताए । उनले भने, ‘समयमा यसअघिका घटना हामीले जानकारी पाएको भए अनुसन्धान गरी दोषि पत्ता लगाई सक्थ्यौ, जानकारी नहुँदा यतिबेला ठूलो क्षति भयो ।’ घटना साना ठुला जस्ता भएपनि समयमा जानकारी गराए समाधान खोजीने र सम्भावित हुने ठुलो घटनाको रोकथाम हुने उनले बताए ।
१५ दिनको अवधिमा आगलागीबाट चार जनाको भौतिक सम्पतीमा क्षति भईसकेकाले वाहिरबाट भन्दा पनि स्थानीयबाटै घटना घटेको हुन सक्ने प्रहरीको अनुमान छ । केहिदिन अघि मात्र स्थानीय जगत आलेमगरको वंगुरको खोरमा आगलागी हुँदा वंगुर जलेर नष्ट भएका थिए भने खड्गीमाया लायो मगर, रितबहादुर घिसिङको मतान, लोकबहादुर तामाङको ग्वाली आगलागीबाट नष्ट भएको स्थानीय गिता केसीले जानकारी दिईन् ।
उनले घटना कुनै गिरोहबाट सञ्चालित भएको हुन सक्ने अनुमान गरिन् । बिहीबार पनि बन्द प्रशोधन केन्द्रमा पछाडीको ढोका फुटाएर आगो सल्काउनु र आगो निभाउनेक्रममा कुलोबाट ल्याएको पानी पनि दुई पटकसम्म मारिनु अझ शंकास्पद रहेको उनको भनाई छ ।
बिहीबार साँझ ५ः३० बजे मुर्कुची बजारको विचमा रहेको थापा जडिबुटी तथा प्रशोधन केन्द्रमा चार करोडको धनमाल भएपनि आगलागीबाट दुई करोड बराबरको धनमाल क्षति भएको छ । बन्द प्रशोधन केन्द्रमा आगलागी हुँदा तेजपत्ता, अलैँची, चिराईतो, अम्लिसोको कुचो लगायतका जडीबुटी र प्रशोधन केन्द्रको घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रदेव राईले बताए । उनका अनुसार शुक्रबार विहानसम्म पनि भित्र भित्रै बाँकी रहेकोले स्थानीय र प्रहरीको सहयोगमा निभाईएको थियो ।


यस्तै शुक्रबार प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्की सहितको टोलीले उक्त घटनाको अवलोकन गरेर फर्केका छन् । प्रजिअ कार्कीका अनुसार अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुले यो घटना घटाएको हुन सक्ने भएकोले सुक्ष्मढंगले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको बताए । उनका अनुसार इन्स्युरेन्सको प्रतिनिधिलाई बोलाएर क्षतिको मुल्याङ्कन गर्न लगाईएको छ ।
आगलागीबाट तेजपत्ता मात्र ४ लाख किलोग्राम, अलैँची ६० मन, चिराईतो २० क्वीन्टल, कुँचो ५ हजार र गोदाम घर जलेर नष्ट हुँदा करिव दुई करोडको क्षति भएको भएको प्रसोधन केन्द्रका व्यवस्थापक श्यामलाल तामाङले बताए । ‘तेजपत्ताको जिल्लाकै ठुलो प्रशोधन केन्द्र हो,’ उनले भने, ‘गोदाममा रहेको अधिकाँस तेजपत्ता लगायतका जडीबुटी र प्रशोधन केन्द्रको घर पूर्णरुपले क्षति पुगेको छ ।’
यधपि आगो कसरी लाग्यो भन्ने अहिलेसम्म कारण खुलेको छैन । आगो त्रियुगा र चौदण्डीगढी नगरपालिका, उदयपुर सिमेण्ट उद्योग, मदनभण्डारी लोकमार्गमा प्रयोग हुँदै आएका ४ वटा दमकल, स्थानीयबासी र प्रहरीको सकृयताले ३ घण्टापछि नियन्त्रणमा आएको थियो ।
मुकुर्ची बजार छेउमै रहेको प्रशोधन केन्द्र विद्युत विहिन घरमा छ । एसपी राईले प्रष्ट पार्दै भने, ‘बन्द प्रशोधन केन्द्रमा एक्कासी आगोलागी भएको छ, कसैले रिसीवीकोकारण लगाइदिएको शंस्का छ ।’ थापा जडीबुटी प्रशोधन केन्द्रका प्रोप्राईटर भरतबहादुर थापा बिहीबार बिहान घर छोडेर काठमाण्डौ जानु पनि साँझपख घटना घटनु थप रहस्य रहेको परिवारको अनुमान छ ।
‘भारतीय लोकसभाको निर्वाचनले सिमाक्षेत्र बन्द हुँदा विगत एक महिनादेखि जडिबुटी निकासी भईरहेको थिएन,’ व्यवस्थापक तामाङले भने, ‘एक साता भित्र लैजाने तयारी भईरहेको थियो, त्यहीँ थाहापाएर होला सायद आगो लगाईयो ।’ भन्छन्, ‘लगातार घटना घटि रहेकाले हामीले बेलामौकामा निगरानी त बढाएकै थियौ, रातीसमेत आलोपालो गर्ने गरिएको थियो, यसरी दिउँसै हुन्छ भन्ने त कल्पना पनि गरेका थिएनौ ।’ उदयपुरको तेजपत्ता भारत निकासी हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया