राजेन्द्र महतो, लहान । कर्मचारीमाथि हातपात भएको विरोधमा सिरहाको कल्याणपुर नगरपालिकाका सबै कर्मचारीले बुधबार बिहानदेखि कार्यालयको कामकाज ठप्प पारेका छन् । कार्यकक्षमै काम गरिरहेका बेला मंगलबार नगरपालिकाका ओभरसियर छेदिकुमार साफीलाई सोही नगरपालिका ७ भेडिया रमपुराका दीपेन्द्र यादवसहितको समूहले हातपात गरेको भन्दै कामकाज ठप्प पारेका हुन् । हातपात गर्नेलाई कारवाही गर्नुपर्ने मागसहित कर्मचारीले कामकाज ठप्प पारेका हुन । कर्मचारीले कामकाम ठप्प पर्दा सेबाग्राहीहरु मार्कामा परेका छन् ।
गत भदौ–असोजमै आधारभूत विद्यालय रम्पुरा भेडियाको प्राङ्गणमा माटो पुरेको मूल्याङ्कन गरिदिन भन्दै आएका समूहसँग कामको सम्झौता र कार्यादेश ल्याउन भनेपछि यादवसँगै आएका समूहले ओभरसियरलाई थप्पड हानी हातपात गरेका थिए । नगर प्रमुख सूर्यनाथ मण्डलले कर्मचारीमाथि भएको हातपातप्रति दुःख व्यक्त गर्दै समस्या समाधानको पहल भइरहेको बताएका छ्न ।









