उदयपुर । कटारी नगरपालिका २ नं. वडा कार्यालयको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । स्थानीय सरकार जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने लक्ष्य अनुसार वडा कार्यालयले स्वास्थ्य शिविर संचालन गरेको हो ।
पहिलो पटक गरिएको शिविरमा आँखा र कानको जाँच गरिएको छ । शिविरमा जाँच गराउन आउनेको लागि सम्पूर्ण औषधिहरू वडा कार्यालयले निःशुल्क वितरण गरेको वडाध्यक्ष प्रेम बहादुर थापाले बताए । उनले भने, ‘कटारी नगरपालिकामै पहिलो पटक यस वडा कार्यालयले निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।’ उनका अनुसार संविधानले ग्यारेण्टी गरे अनुरुप केही समय पछि छाला सम्बन्धी स्वास्थ्य शिविर राख्ने तयारी गरिरहेको बताए । यस वडा कार्यालयले वडावासीको स्वास्थ्य जाँच र गाउँमै उपचार दिन शिविर सञ्चालन गरिएको वडाध्यक्ष थापाले बताए । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. राजकुमार यादवको नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शिविरमा २ सय ४ जनाले आँखाको र ८६ जनाले कानको विरामीको चेक जाँच गरिएको थियो ।

शिविरमा सा–साना बालबच्चा देखि ८० वर्ष वृद्धवृद्धाको चेकजाँच गरिएको थियो । आँखा जाँचको क्रममा २५ जनालाई मोतिया विन्दु भएको देखियो भने १३ जनालाई कानको अप्रेसन गर्नु पर्ने भएको डा. यादवले बताए । मोतिया बिन्दु भएका र कानको अप्रेसनको लागि बिहीबार यातायातको सुविधा सहित निःशुल्क अप्रेशन गरिने व्यवस्था वडा कार्यालयले गरिने वडाध्यक्ष थापाले बताए ।









