राजेन्द्र महतो, लहान । सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ परेका पूर्व सभासद सहित दुई जना पूर्पक्षका लागि सोमबार कारागार चलान भएका छन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य समेत रहेका पूर्व सभासद विपी यादव र अर्का केन्द्रिय सदस्य हरि मण्डललाई सप्तरी जिल्ला अदालतले पूर्पक्षका लागि राजविराज कारागार चलान गरेको हो ।
जिल्ला अदालतका न्यायाधिश उमेश कोइरालाको एकल इजलाशले सोमबार थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ का सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रकम निकाल्न किर्ते उपभोक्ता समिति गठन गरी सरकारी छाप किर्ते गरिएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
छिन्नमस्ता गाउँपालिका मोहनपुर निवासी पूर्वसभासद यादव रातो पासपोर्ट दुरुपयोग काण्डमा पनि मुछिएका थिए । यस्तै राजगढ गाउँपालिका ३ नर्घो निवासी अर्का सदस्य मण्डल स्थानीय शान्ति समितिका पूर्व संयोजक हुन् ।
सोही आरोपमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख तथा सिनियर डिभिजन इन्जिनियर राजकुमार गोइतलाई ४ लाख र निर्माण सामग्री आपूर्तिकर्ता दिलीपकुमार दास र रापाका स्थानीय नेता रमानन्द ठाकुरलाई जनही दुई लाख ५० हजार धरौटीमा रिहा गरिएको छ ।

तपाईको प्रतिक्रिया