तस्विर : वरिष्ठ पत्रकार कौशल चेम्जोङको फेसबुक पोष्टबाट

उदयपुर । उदयपुरमा यस वर्षकै सबैभन्दा बढी गर्मी शुक्रबार भएको छ । अत्याधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । अत्याधिक गर्मीकै कारण जनजीवन र व्यवसाय प्रभावित भएका छन् । जेष्ठको पहिलो सातामै उदयपुरको तापक्रमले ४० डिग्री पुगेको छ । यस अघिका वर्षहरुमा ४० डिग्री तापक्रम कहिले पनि पुगेका थिएन । दिनभरि तातो हावा चल्न थालेपछि यहाँको जनजीवन निकै अस्तव्यस्त बनेको हो ।
अत्याधिक गर्मीले गर्दा सर्वसाधारण न्यून संख्यामा मात्र घरबाहिर निस्कने गरेकाले व्यापार व्यवसाय सबैभन्दा बढी प्रभावित भएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले बताए ।
यस्तै वरिष्ठ पत्रकार कौशल चेम्जोङले त्रियुगा नगरपालिकाको डिजिटल बोर्डको फोटो आफ्नो फेसबुक वालमा पोष्ट गर्दै ‘उफ उफ खाँडिको के कुरा ? हाम्रो गाईघाटको हेरम त । उफ उफ’ भन्दै लेखेका छन् ।
अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल र विभिन्न मेडिकलमा ह्वात्तै बिरामी बढेका छन् । गर्मी र चलेको तातो हावाले बिरामीको चाप बढेको अस्पतालका चिकित्सक बताउँछन् । गर्मीका कारण लु लागेका, झाडा पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेको जिल्ला अस्पतालका डाक्टर विष्णु बहादुर बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया