उदयपुर । सरकारले ल्याउन लागेको नेपाल मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै उदयपुरका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका थिए । नेपाल पत्रकार महासंघ उदयपुरको अगुवाइमा शुक्रबार बिहान करिब १ घण्टा जिप्रकामा आ−आफ्ना सञ्चारका सामाग्रीहरु प्रदर्शन गर्दै विरोध गरेका हुन् ।
विद्येयकले तोकेका नीति नियमले स्वतन्त्र प्रेसलाई प्रवद्र्धधन गर्नु भन्दा प्रतिबन्ध लगाउने भन्दै संशोधनको माग गरिएको नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले बताए । महासंघले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन संशोधन वा फिर्ता गरी भविष्यमा सरोकारवाला पक्षसँग छलफल र सहमति गरेर मात्र मिडिया सम्बन्धी कानुनहरु ल्याउने मागको सुनुवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपर्ने परिस्थिति निर्माण भएको अध्यक्ष खड्काले भनाई छ । विद्येयकमा उल्लेखित व्यवस्थाले साना लगानीका मिडियाहरुलाई निरुत्साहित गर्ने गरी ल्याएको आन्दोलनमा उत्रेका पत्रकारहरुले आरोप लगाएका छन् ।


नेपाल मिडिया काउन्सिलको दफा १८ को व्यवस्थामा काउन्सिलबाट जारी भएको आचारसंहिता विपरित कुनै सामग्री प्रकाशन तथा प्रतिष्ठामा आँच पुर्याएमा सम्बन्धित व्यक्तिले दफा १६ बमोजिम दिएको उजुरी दफा १७ बमोजिम जाँचबुझ गर्दा कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुगेको देखिए आमसंञ्चार माध्यम, प्रकाशन, सम्पादक, पत्रकार वा समाचारदातालाई २५ हजार रुपैयाँ देखि १० लाखसम्मको जरिवाना गर्ने विद्येयकमा उल्लेख छ ।
विधेयकमा काउन्सिलबाट जारी भएको आचार संहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेको कारणबाट व्यक्ति वा संस्थालाई क्षति पुगेको भएमा काउन्सिलले त्यस्तो क्षति पुगेको व्यक्ति वा संस्थालाई मनासिव क्षतिपूर्ति भराई दिन सक्नेछ भनी उल्लेख गरिएको छ ।

विधेयकमा उल्लेखित बुदाँहरु संशोधन गर्न माग गर्दै लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई पनि आन्दोलित हुन नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का सदस्य डिल्लीराम खतिवडाले बताए । पत्रकार महासंघको केन्द्रीय सर्कुलर अनुसार सबै जिल्ला शाखाको नेतृत्वमा पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।

तपाईको प्रतिक्रिया