उदयपुर । उदयपुरमा बुधबार आएको हावाहुरीबाट घर उडाउनेलाई त्रियुगा नगरपालिकाद्वारा त्रिपाल वितरण गरेको छ । त्रियुगा नगरपालिका २ स्थित जोगिदह, खैजनपुर र मिलन चौकमा हावाहुरीले घर उडाउने ७ घर परिवारलाई नगरपालिका विपद् व्यवस्थापन समितिले एक कार्यक्रम गरी त्रिपाल वितरण गरेको छ ।
बुधबार पानीसँगै हुरीबतासले त्रियुगा नगरपालिका २ का रामकुमार चौधरी, भिमबहादुर कटुवाल, हरि नारायण चौधरी, विन्देश्वर चौधरी, कोपिला सदा, भिखन सदा र विन्तीलाल सदाको घर उडाएको थियो ।
उनीहरु मध्ये बढी क्षति रामकुमार चौधरी र भिमबहादुर कटुवालको घरमा बढी क्षति भएकोले दुई÷दुई वटा त्रिपाल वितरण गरेको त्रियुगा नगरपालिका २ का वडाध्यक्ष घमानसिंह खत्री (धुर्व)ले जानकारी दिए । उनका अनुसार अन्य अन्य पाँच घर परिवारलाई एउटा एउटा त्रिपाल वितरण गरेको बताए ।
यस्तै हाबाहुरीले अवधनारायण चौधरीको ४० मिटर लामो कुखुराको खोर उडाएर लगेको थियो । क्षतिपूर्तिको लागि नगरपालिकालाई सिफारिस गरेको वडाध्यक्ष खत्रीले बताए ।
यस्तै त्रियुगा नगरपालिका १ जोगिदह स्थित घुरन चौधरीको घर समेत हावा हुरीले टिनको छानो उडाएर क्षति पुर्याएको छ । उनलाई त्रियुगा नगरपालिका १ का वडाध्यक्ष मनोज कुमार चौधरीले त्रिपाल उपलब्ध गराएको छ भने क्षतिपूर्तिको लागि सिफारिस गरेको छ । बुधबार आएको हावाहुरीले मोथियाहीमा विजुलीको पोल भाचिएपछि विधुत समेत अवरुद्ध भएको थियो ।
हावाहुरीसँग आएको असिना पानीले आँप र लिचीमा क्षति पुगेको स्थानीय किसान भिविषण दास चौधरीले बताए । उनका अनुसार पाक्न लागेको लिचीलाई हावा हुरीले झारेको छ भने दाना लागेको ८० प्रतिशत आँप हावा हुरीले नष्ट गरेको छ । यस्तै लहरे तरकारी बालीनालीलाई पनि हावाहुरी र असिना पानीले असर गरेको छ ।















