उदयपुर । उदयपुरमा टिपरको ठक्करले एक साइकलयात्री गम्भीर घाइते भएका छन् । घरदेखि साइकल चढेर गाउँ जाँदै गरेका बेलामा नदाहा–कन्चनपुर खण्डको सडकमा टिपरको ठक्करबाट बेलका नगरपालिका– २ तपेश्वरीका कुमार परियार गम्भिर घाइते भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार तिब्रगतिमा रहेको ना.७ ख ६००९ नम्बरको टिपरले परियारलाई आफनै साइडमा साइकल कुदाइ रहँदा ठक्कर दिएर घाइते बनाएको हो । परियारको दायाँ हात भाँचिनुका साथै शरिरका विभिन्न भागमा चोट पटक लागेको छ । उनको सप्तरीको फत्तेपुरस्थित स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि बाहिर पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक अम्मरप्रसाद गजमेरले जानकारी दिए ।
साइकल यात्रीलाई ठक्कर दिएर घाइते बनाए लगत्तै टिपर चालक भने फरार भएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै सडकमै टिपर छाडेर फरार भएका चालकको खोजी कार्य फत्तेपुर प्रहरी चौकी, इलाका प्रहरी कार्यालय कन्चनपुर र इलाका प्रहरी सुन्दरपुरले खोजी रहेको जनाएको छ ।
स्थानीयका अनुसार कालोपत्रे भएसँगै सडकमा सवारी साधन तीब्र गतिमा हुइकिने गरेका कारण पटक पटक नदाहा–कन्चनपुर खण्डको सडकमा दुर्घटना हुँदै आएको छ ।
सुनसरीको नदाहादेखि उदयपुरको बेलका नगरपालिका– ७ को चतारा, रामपुर हुँदै चौदण्डीगढी नगरपालिका– ३ बसाहा भएर सप्तरीको फत्तेपुर हुँदै कन्चनपुरस्थित पूर्व–पश्चिम लोकमार्गमा जोडिने सडक कालोपत्रे भएपछि तीब्र गतिमा सवारी चलाउने भएकाले दुर्घटना बढेको हो । स्थानीयका अनुसार अधिकांश टिफरहरु नदीजन्य गिटी बालुवा, ढुंगा जिल्ला बाहिर निकासी गर्ने गरेको र टिफरहरु तीव्र गतिमा हाक्ने भएपछि दुर्घटना निम्तिएको बताउँछन् । तीब्र रफतारमा हाँकेकै कारण महिना दिन अघि मात्र टिपरकै ठक्करले एक महिलाको ज्यान गएको थियो । उदयपुरमा टिपरको ठक्करबाट आधा दर्जन भन्दा बढीको ज्यान गैसकेको छ ।









