उदयपुर । चालु आर्थिक वर्ष (२०७५÷०७६) भित्रै उदयपुरका आठ वटै स्थानीय तहमा १ हजार २ सय २ जनाले रोजगारी पाउने भएका छन् । सरकारले चालु वर्षको बजेटमार्फत नै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १ हजार २ सय २ जनाले उदयपुरमा रोजगार पाउने भएका छन् ।

उदयपुरका आठ वटै स्थानीय तहका लागि २ करोड ६३ लाख रकम विनियोजन गरिएको छ । जसमध्ये त्रियुगा नगरपालिकामा सवैभन्दा बढीले रोजगार पाउने भएका छन् । त्रियुगा नगरपालिकामा ३ सय ४८ जनाले ३० दिन बराबरको रोजगार पाउने भएका छन् । त्रियुगा नगरपालिकामा ७७ लाख रकम सशर्त अनुदान आएको मध्येबाट ३ सय ४८ जनाले बेरोजगार भत्ता पाउँदैछन् ।
यस्तै सवैभन्दा कम लिम्चुङबुङ गाउँपालिकामा ४१ जनाले मात्रै बेरोजगार भत्ता पाउँने छन् । लिम्चुङबुङको लागि ९ लाख नेपाल सरकारबाट अनुदान पाउँदैछन् ।
कटारी नगरपालिकामा २ सय १२, चौदण्डीगढी नगरपालिकामा १ सय ९० र बेलका नगरपालिकामा १ सय ६२ जनाले बेरोजगार भत्ता पाउनेछन् ।
यस्तै रौतामाई गाउँपालिकामा ८६ जना,उदयपुरगढीमा १ सय १३ जना र ताप्ली गाउँपालिकामा ५० जनालले बेरोजगार भत्ता पाउनेछन् ।
यस कार्यक्रममार्फत् पाँच वर्षमा वैदेशिक रोजगारमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य सरकारको छ । नेपालको पछिल्लो आर्थिक सर्वेक्षणअनुसार प्रत्येक वर्ष झण्डै पाँच लाख युवा रोजगारीको खोजीमा बजार प्रवेश गर्छन् । तीमध्ये सरदर एक हजार युवा वैदेशिक रोजगारमा जान्छन् ।
बेरोजगार व्यक्तिलाई न्यूनतम एक सय दिनसम्मको रोजगारी दिने र वर्षभरि परिवारको कुनै पनि सदस्यले सय दिन बराबरको रोजगार नपाए उक्त अवधिमा पाउने पारिश्रमिकको ५० प्रतिशत बराबर निर्वाह भत्ता दिने प्र्रावधान प्रधानमन्त्री रोजगार कार्यक्रमले गरेको छ । देशभरी बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिन बराबरको रोजगार दिन भनेको छ ।









