काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश लगाउने काम बन्द नभए अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएको छ । संसदमा दर्ता भएको ‘मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रताविरोधी प्रावधान’बारे शनिबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा महासंघका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधान नसच्याइए अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएका हुन् ।

विधेयक कानुनको रुपमा आईसकेपछि नेपालमा स्वतन्त्र पत्रकारिता रहँदैन भन्नेमा महासंघ प्रष्ट रहेको भन्दै उनले सरकारको कदमविरुद्ध महासंघले आइतबारदेखि साताव्यापी आन्दोलन घोषणा गरेको बताए ।

‘आन्दोलनबाट सच्चिएन भने हामी नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको असल मित्रको रुपमा रहँदै आएको अन्तर्राष्ट्रिय समुदायलाई गुर्हाछौं,’ उनले भने, ‘हामी अन्तर्राष्ट्रिय नीतिगत मिडिया मिसन नेपालमा बोलाउँदैछौं । अन्तर्राष्ट्रिय समुदायको पनि चासो छ कि नेपालका कानुनहरु कस्ता बनिरहेका छन् ? यो नेपालको संविधान अनुसार छ कि छैन ? प्रेस स्वतन्त्रताको विश्वव्यापी मूल्य र मान्यता अनुरुप छ कि छैन ? स्वतन्त्र ढंगबाट अन्तर्राष्ट्रिय समुदायले अब नेपालको मिडियासम्बन्धी कानुनमा अनुगमन पर्यवेक्षण गरुन् भनी हामी आह्वान गर्दैछौं । अब हामी अन्तर्राष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघ सम्मलाई हामी यो प्रक्रियामा सहभागी गराउँदैछौं ।’

सरकारले लोकतन्त्रको आवरणमा निरंकुशता लाद्न खोजेको आरोप उनले लगाए । विधेयकमा भएको व्यवस्था अनुसार मिडिया काउन्सिलको पदाधिकारी नियुक्तिले मिडिया काउन्सिलको स्वायत्ततालाई रक्षा नगर्ने भन्दै उनले काउन्सिल गठन प्रक्रिया र नियतमा खराबी देखिएको टिप्पणी गरे । विधेयकमा गरिएको ‘मनासिव क्षतिपूर्तिको व्यवस्था’ले स्वनियन्त्रणलाई बढाई नेपालमा पत्रकारिताको मुल मर्म र चुरोलाई मार्ने उनले बताए ।

उनले भने, ‘यो विधेयक हामी कुनै पनि हालतमा स्वीकार गर्दैनौं । यो विधेयक पारित भएर कानुनको रुपमा आयो भने हामी नेपालका सञ्चारकर्मीहरु यो कानुन मान्दैनौं । हामी यसको अवज्ञा गर्छौं । हामी कुनै हालतमा पनि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा सम्झौता गर्दैनौं । कुनै पनि हालतमा, कुनै पनि मूल्यमा हामीलाई यो स्वीकार्य छैन ।’

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले फेरि एकपटक प्रेस स्वतन्त्रताका लागि सडकमा उत्रनुपर्ने अवस्था आएको भन्दै सबैलाई सडक संघर्षमा ओर्लन आह्वान गरे ।

सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकमा प्रेस र अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान राखिएको भन्दै पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघले त्यसविरुद्धको आन्दोलन घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया