राजेन्द्र महतो, लहान । सिरहामा नयाँ शैक्षिकसत्र सुरु भइसके पनि हालसम्म सामुदायिक विद्यालयमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेका कारण विद्यार्थी समस्यामा परेका छन् । शैक्षिकसत्र सुरु भएको तीन हप्ता बित्दा पनि अहिलेसम्म पाठ्यपुस्तक उपलब्ध हुन नसकेका कारण विद्यार्थीको पठन पाठन प्रभावित भएको हो । स्थानीय तहले पाठ्य पुस्तक किन्ने पैसा विद्यालयलाई उपलब्ध नगराउँदा पाठ्यपुस्तकको अभावमा विद्यार्थीको पठन पाठन प्रभावित भएको हो ।

जिल्लाका करिव ७६ हजार बालबालिकालाई समयमै पाठ्यपुस्तक नपाउँदा विद्यार्थीहरु विद्यालय नगई घरमै खेलेर दिन विताउन बाध्य छन् । पाठ्य पुस्तक नहुँदा ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुरयाऔँ’ नारा सँगै विद्यार्थी भर्ना अभियान समेत प्रभावित भएको छ ।
शिक्षा समन्वय इकाई समिति सिरहाका जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेका अनुसार पाठ्यपुस्तकको रकम निकासा नभएका कारण तीन सय ३५ विद्यालयका कक्षा १ देखि ९ सम्मका ७६ हजार पाँच सय ८८ विद्यार्थीको पठन पाठन प्रभावित भएको स्वीकार गरेको छ ।
जिल्लाका सिरहा, लहान, मिर्चैया, कर्जन्हा, सुखीपुर र गोलबजार नगरपालिका लगायत नवराजपुर, भगवानपुर, औरही, नरहा र लक्ष्मीपुर पतारी गाउँपालिकाले पाठ्य पुस्तक खरिदको रकम निकासा नगर्दा बालबालिकाको पढाई प्रभावित भएको हो । लहान नगरपालिकाको पशुपति माध्यमिक विद्यालयका विद्यार्थी पुस्तक अभावका कारण दिनहुँ विद्यालयमा खेलेर बिताउने गर्छन् ।
सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किँदै गएका बेलामा प्रत्येक वर्ष यस्तो समस्याले शैक्षिकस्तर झनै कमजोर हुने खतरा रहेको गोलबजार नगरपालिका ६ घर भएका अभिभावक देवकुमार महतो बताए । उनले भने– “खै कसरी पढाउने सामुदायिक विद्यालयमा प्रत्येक वर्ष पुस्तक अभाव देखाएर बच्चाले तीन–तीन महिना पढ्नै पाउँदैनन् । विगत केही वर्षदेखि सबै शैक्षिकसत्रमा पुस्तक अभाव हुन्छ खै कहिले समाधान गर्ने सरकारले ?”
रकम अभावमा विद्यालयले पुस्तक उपलब्ध गराउन नसक्दा भर्ना अभियान समेत अन्योलमा परेको फुल कुमारी उच्च मा.बि.का प्रधानाध्यापक भानु गौतमले बताएका छन । प्राधानाध्यापक गौतमका अनुसार विद्यालय संचालन भएको तीन हप्ता पुगि सकेको छ तर, किताव किन्ने पैसा उपलब्ध नगराउँदा विद्यार्थीहरु त्यसै कक्षामा आएर खेलेर बस्ने गरेको बताए । जिशिअ पाण्डेका अनुसार स्थानीय तहलाई पाठ्यपुस्तक र छात्रवृत्तिको रकम तत्काल निकासा दिन आग्रह गरिएको बताए । उनका अनुसार केही दिनमा सवै विद्यालयमा पाठ्य पुस्तक पुग्ने दावी गरेका छन् ।









