उदयपुर । छिमेकी जिल्लाका कारण उदयपुर मेलेरिया (औँलो)को उच्च जोखिममा रहेको छ । पछिल्लो तथ्यांकले औँलो रोगीको तथ्यांक शुन्यमा आएपनि जोखिम भने नघटेको स्वास्थ्य कार्यालयको भनाई छ ।
विश्व औलो रोग दिवसको अवसरमा स्वास्थ्य कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो दावि गरिएको हो । कार्यालयले गत आर्थिक वर्षदेखि औँलो शुन्य रहेको देखाएको छ ।


स्वास्थ्य कार्यालयले प्रस्तुत गरेको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा बेलका नगरपालिका ७ मैनामैनीमा एक जना मात्र औँलोको विरामी फेला परेको हो । त्यो पनि जिल्ला बाहिरबाट रोग लिएर आएको स्वास्थ्य प्रमुख रमेश खकुरेलले जानकारी दिए । ‘गर्मीको सिजन छ, औँलो नआउला भन्न सकिन्न,’ उनले भने, ‘सम्भावित हुन सक्ने दुर्घटना न्युनिकरणका लागि तयारी अबश्थामा रहन आग्रह गर्दछु ।’ प्रकोप अति कम भएपनि मैनामैनी, बेल्टार, सुन्दरपुर, कटारी लगायतका क्षेत्रमा रोगका ब्याक्टोरीयाहरु फेला परेकाले सजकता अपनाउनु पर्ने उनको भनाई छ ।
उदयपुर जिल्ला पनि भित्रि मधेशअन्र्तगत पर्ने भएकाले जोखिम भने निकै रहेको उनको भनाई छ । सिरहा, सप्तरी लगायतका छिमेकी जिल्ला अझैपनि औँलोको हिसावले खतरा जिल्ला नै रहेकाले जुनसुकै जतिबेला पनि संक्रमण फैलन सक्ने खतरा रहेको प्रमुख खकुरेलको दावी छ ।
औँलो रोग लामखुट्टेबाट लाग्ने भएकाले गाउँघर वरीपरी सफा राखी वातावरण नै स्वच्छ बनाउनु पर्ने, खाल्टा खुल्टी पुर्ने, औषधि छर्कने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्ने जस्ता बिषयमा सम्बेदनशिल हुन उनले आग्रह गरे ।
औलो रोग लागेपछि काम ज्वरो आउने, शरिर रातो हुने लगायतका लक्षणहरु देखा पर्ने गर्दछन् । तथ्यांकअनुसार गत आर्थीक वर्ष २०७४÷०७५ मा १ नम्वर प्रदेशमा २४ जना व्यक्तिलाई औँलो रोगको संक्रमण देखापरेको छ । देशै भरिका ७ वटै प्रदेशमा १ हजार १ सय ८७ जनामा औँलो रोग फेला परेको तथ्याङ्कले देखाएको छ ।
विश्व भर ४ लाख ५० हजार मानिस औँलो रोगको विरामी रहेको तथ्याङ्कले देखाएको छ । “आफैबाट शुरु गरौँ, औलोलाई शून्यमा पुर्याऔँ” भन्ने मुल नारको साथ १३ औँ विश्व औलो रोग दिवस उदयपुरमा पनि भव्य मनाएको छ । सरकारले सन २०२५ सम्म देशलाई औँलो रोग मुक्त बनाउने उद्देश्यका साथ कामअगाडी बढाएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया