उदयपुर । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आव्हान गरेको नेपाल बन्द उदयपुर पनि प्रभावित भएको छ । नेकपा प्रतिवन्धपछि यो दोस्रो बन्द हो ।
यस अघि चैत्र १६ गते नेपाल बन्दको घोषणा गरेपनि एसईई परिक्षा र नेपाल बार एशोसिएशनको निर्वाचन भएकोले बन्द फिर्ता लिएको थियो । बन्दले उदयपुरको जन जिवन प्रभावित भएको छ ।

सरकारले लगातार दमन गर्न थालेको भन्दै विप्लव समूहले गरेको बन्दले उदयपुरबाट छुट्ने छोटो तथा लामो दुरीको सवारी साधन नचल्दा सर्वसाधारण मर्कामा परेका छन् । यस्तै उदयपुरका सदरमुकाम गाईघाट, बेल्टार, रामपुर, मुर्कुची तथा कटारीमा विहानै देखि यातायातको साधन चलेको छैन भने बजार, पसल र विद्यालय समेत बन्द हुन पुगेको छ । ग्रामीण क्षेत्रबाट सचालन हुने सम्पूर्ण यातायात ठप्प रहेको उदयपुर हिमाली यातायात व्यवसायी केन्द्रले जनाएको छ ।
गाईघाट र कटारीदेखि ग्रामिण क्षेत्रमा चल्ने सवारी साधन ठप्प जस्तै बने । ‘गाडी चलउँला, जंगलमा बसेर बम प्रहार भयो भने के गर्ने ?,’ कटारी–सोरुङ बोलेरो गाडी सञ्चालन गर्ने सानु विष्टले भने, ‘गाँउमा प्रहरी हुँदै, समस्या हुन्छ, बन्दकर्ता पनि हिजो आज गाँउमै केन्द्रति हुन थालेका छन ।’ ग्रामिण क्षेत्रका अधिकाँस सडकहरु बन्द भएका छन ।
प्रदेशका अधिकाँस ग्रामिण क्षेत्रका बजार, यातयात, विद्यालय ठप्पा भएको सर्वसाधरणको भनाइ छ ।









