उदयपुर/उदयपुरमा जारी ‘चौदण्डीगढी नारदमुनि गोल्डकप प्रतियोगिता ०७५’ मा डिसिटी सुनसरी टिम फाइनलमा पुगेको छ । आइतबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा टाइब्रेकरमा बिपक्षी समूह मोरङ ११ लाई ४–२ गोल अन्तरले पराजित गर्दै डिसिटी सुनसरी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
निर्धाति ९० मिनेटको समयमा दुवैपक्षबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा डिसिटीका सन्तोष तामाङ, युवराज राई, राजिव गुरुङ र जीवन धामी गोल गर्न सफल भएका थिए। उता प्रतिस्पर्धी मोरङबाट भने रजिन धिमाल र बुद्ध चेमजोङको प्रहारले मात्र जाली चुम्न सफल भयो ।
खेलको म्यान अफ द म्याचको उपाधि पाउने डिसिटीका हेम तामाङलाई चौदण्डीगढी नगरपालिका ६ का वडाध्यक्ष कमलध्वज राईले ट्रफी तथा प्रमाणपत्र प्रदान गरे । सोमबार हुने अन्तिम सेमीफाइनल खेलमा गोर्खा व्वाईज क्लब बुटबल र बारा ११ युथ क्लब बाराबीच प्रतिस्पर्धा हुने प्रतियोगिता आयोजक बसाहा क्लवका अध्यक्ष शेखर राईले बताए ।
सदरमुकाम बाहिरको सर्वाधिक राशीको गोल्डकप प्रतियोगितामा विजेता टिमलाई पुरस्कारस्वरुप ३ लाख नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यसैगरी उपविजेताले १ लाख ५० हजार नगद र प्रमाणपत्र पाउने छ । २ विभागीयसहित ८ वटा समूहको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो ३० गते हुनेछ ।

००७ सालका क्रान्तियोद्धा तथा पूर्वमन्त्री स्व. नारदमुनि थुलुङ राईको स्मृतिमा क्लवले बसाहामा वर्षेनी नारदमुनि गोल्डकप प्रतियोगिता सञ्चालन गर्दै आएको छ। चौनपा ५ बसाहा बर्खेडाँडास्थित नारदमुनि रंगशालामा सञ्चालित गोल्डकप प्रतियोगिता चौदण्डीगढी नगरपालिकाको ५ लाख र बिभिन्न संघसंस्था र क्लवको सहयोगमा भइरहेको अध्यक्ष राईले बताए ।

तपाईको प्रतिक्रिया