उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ८ उत्तराई टोलको फुलवारी टोल विकास संस्थाको सिमा क्षेत्र भित्र कुनै पनि प्रजातीका चरा चुरङ्गी मार्न पाइने छैन ।संस्थाको तेश्रो सधारण सभा तथा पहिलो अधिवेशनबाट चरा चुरङ्गी मार्न निषेध क्षेत्र घोषणा गरिएको हो ।
फुलबारीटोल बिकास संस्था भौगोलिक बनाबट र क्षेत्रगत संरचनामा गरिव रहे पनि पर्यटन दृष्टिकोणले सुन्दर मान्न सकिन्छ । यस क्षेत्रमा पानीको मुहान कहिले नसुक्ने भएकोले त्रियुगा नगरपालिका भित्रै यो क्षेत्रलाई धान खेतीको लागि राम्रो पकेट क्षेत्र मान्न सकिन्छ । चारै तिर खोलाले छेकिएको बिचमा टापु जस्तो देखिने यो गाँउमा बिभिन्न प्रजातीका चरा चुरङ्गी पाइने गरेको टोल बिकास संस्थाका सल्हाकार रामबती चौधरीले बताईन । यस क्षेत्रका जंगल वरिपरि प्रत्येक दिन विहानी पख विभिन्न प्रकारका चरा चुरङ्गी र तिनीहरुको फरक फरक आवाजले गाँउ नै सुन्दरमय र संगीतमय हुने गरेको तर बाहिर गाँउबाट अन्य शिकारीहरु आई चराचुरुङ्गीहरुलाई मार्ने गरेको हुँदा यस क्षेत्रलाई चरा चुरङ्गी मार्न निषेध क्षेत्र घोषणा गर्नु परेको सल्लाहकार चौधरीले बताईन् । वडा कार्यलयसँग समन्वय भईरहेको र छिट्टै चरा मार्न निषेध क्षेत्र बोर्ड बनाई गाँउको बिभिन्न स्थाममा राख्ने वडासँग पहल भइरहेको उनले बताईन् । त्यस्तै संस्थाका सदस्यहरुले वर्षायाममा आफुहरुलाई कष्टपूर्ण जिवन बिताउन बाध्य भईरहेको, चारैतिर खोलाले छिकिएको गाँउ भएकोले वर्षामा विद्यार्थीहरुको पठन पाठन देखि लिएर ज्याला मजदुर गर्नेहरुलाई निकै गाह्रो हुने गरेकोले यस विषयमा सम्बन्धित निकायले ध्यान दिनु पर्ने बताएका थिए । कार्यक्रमको प्रमुख अतिथि तथा वडा अध्यक्ष कमल कुमार राउतले फुलबारी टोल विकास संस्थाले त्रियुगा नगरपालिका भित्रै नमूना टोल विकास र आफनो छुट्टै पहिचान बनाईसकेकोले यस संस्थालाई हर किसिमको सहयोग गर्न तयार रहेको बताए । उनले चरा चुरुङ्गी मार्न निषेध गरिएकोले यो काम उदहारणीय सुन्दरकामको थालनी भएकोले आफु वडाको तर्फबाट सक्दो सहयोग गरि सहकार्य गर्न तत्पर तयार रहेको बताए ।
अधिवेशनले हरीदेव चौधरीको नेत्तृवमा नौँ कार्य समिति सर्वसहम्मत चयन गरेको छ । सचिवमा दुर्गानन्द चौधरी, कोषाध्यक्षमा मिना चौधरी, सहसचिवमा लक्ष्मी चौधरी र सदस्यहरु क्रमशः लालो चौधरी, मन्जु चौधरी लगायत रहेका छन् । संस्थाले यस अघि विभिन्न जनचेतना मूलक कार्यक्रमसँगै जिल्ला स्तरीय समा चकेवा कार्यक्रमहरुको समेत आयोजना गर्दै आईरहेको छ ।









