
उदयपुर । उदयपुरमा भन्सार छलेर नेपाल ल्याएका एक कारलाई भन्सार कार्यालयको जिम्मा लगाईएको छ । NL063114 भारतीय नम्वर प्लेट भएको रातो रङको जेडइ हुन्डाई लेखिएको सेन्ट्रो कार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरले भन्सारको जिम्मा लगाएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव निरीक्षक मधुकमार थापाका अनुसार गएको सोमबार गाईघाट कदमाहा सडक खण्डको त्रियुगा नगरपालिका लालपत्ताबाट ल्याएको बताए । ‘बेवारिसे अवस्थामा सडकमा बरामद गरिएको थियो’, उनले भने, ‘प्रहरी कार्यालयमा कारको धनी हालसम्म सम्पर्कमा नआएको र अनुसन्धान गर्दा उक्त कार भन्सार छली चोरी निकासी गरी ल्याएको पाइयो ।’ उनले कार गाडी आवश्यक कारवाहीको लागि बिहीबार भन्सार कार्यालय सेतुबन्धु कोशी ब्यारेज सुनसरी पठाइएको बताए ।

यस्तै सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बगाहाले स १ त ६५० नम्बरको एक ट्रक समेतलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । बजाज कम्पनीको ३८ ठूला ठूला काटुन मोटर पार्टस्को साथै कपडा, चप्पल, लगायतका सामग्री समेत रहेको डिएसपी थापाले बताए । उनले भने, ‘हामीलाई मोटर पार्टसको बारेमा मात्रै अनुसन्धान गर्न भनेकोले मोटर पार्टसको मात्रै अनुसन्धान गरेका थियौं ।’ भ्याट विल सहित ३ लाख २ सय ४४ रुपैयाको सामान देखियो । अन्य सामानहरुको पनि विल थोरै थोरै रहेको डिएसपी थापाले बताए । डिएसपी थापाका अनुसार विल भएकोले ट्रकलाई छोडिएको बताए ।

स्रोतका अनुसार केही व्यपारीहरुले गाईघाट भित्र्याउने सामानहरुमा न्यून विल विजक जारी गरेर सामानहरु ल्याउने गरेको बताएका छन् । उनका अनुसार खुद्रा मूल्य धेरै तर कर विजक विल थोरैको हुने गरेको छ ।
अस्थायी प्रहरी पोष्ट बगाहामा पक्राउ परेको ट्रकमा भएको सामान गाईघाट बजारको पूरानो पेट्रोल पम्प नजिक कारोबार ठेगाना लहान रहेको सगरमाथा टेडर्सको गोदामका प्रोप्राइटर सकल शाह रौनियार रहेको बुझिएको छ ।

गत मंसिर ६ गते उक्त टेडर्सको गोदामबाट धारा खाने तेल, विभिन्न ब्राण्डका बिस्कुट, भुजा, दालमोट, मसला, आलु चिप्स, मैदा, केटा केटीले पानीमा घोलेर खाने मिस्टर कुल लगायतका म्याद गुज्रेका सामग्री जिल्ला प्रशासन कार्यालय उदयपुरले जफत गरेको थियो । मैदामा किरा परेको थियो भने खानेतेल धाराको एक वर्ष अगाडी नै म्याद गुज्रेको भेटिएको थियो । श्री बाबा रिप्याकिङ्ग एण्ड सप्लायर्स विरगन्जको स्पेशल क्वालिटी ए वान मसालाको म्याद सन् २०१६ अगस्तमा सकिएपनि त्यसमाथि पुनः जय श्रीराम कम्पनीको अल इन वन वेस्ट क्वालिटी मिक्स मसालाको लेवलिङ्ग राखेर विक्री वितरण गरेको पाईएको थियो ।

यस्तै केटा केटीले पानीमा घोलेर खाने पाउडर कैजर कम्पनीको मिस्टर कुलको सन् २०१६ जनवरीमा बनेको पाउडरको म्याद सन् २०१७ जनवरीमा समाप्त भएको सामान समेत दुई कार्टुन भेटिएको थियो ।
‘म्याद नाघेका सबैभन्दा बढी सामग्री किराना पसल र गोदाममा फेला प¥यो । म्याद गुज्रेको श्री बाबा रिप्याकिङ्ग एण्ड सप्लायर्स विरगन्जको स्पेशल क्वालिटी ए वान मसालामाथि कसले नयाँ लेवलिङ्ग गरेर बेचिरहेको पाइएको थियो ।
जिल्ला प्रशासनले सात दिन भित्र प्रमाण सहित उपस्थित हुन भने पनि पछि एक महिनाको म्याद दिएर पठाइएको प्रशासन स्रोतले बताए । उनका अनुसार त्यसपछि अनुसन्धान कहाँ पुग्यो आफुलाई केही थाह नभएको बताए । स्रोतका अनुसार कालोबजारी गर्ने तथा उपभोक्ता ठगी गर्नेलाई कालोबजार तथा केही सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारबाही हुने व्यवस्था हुने रहेपनि त्यसै हराएर गएको बताए ।











