उदयपुर । धनकुटाको मूलघाटबाट तमोर नदीमा सुनसरीको चतारातर्फ जाँदै गरेको र्याफ्टिङ आइतबार अपरान्ह तमोर नदीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका १ स्थित विरिन्टार सफाईधापमा दुर्घटना हुँदा र्याफ्टिङमा सवार उदयपुरको त्रियुगा नगरपालिका ६ का ५४ वर्षीय रामबहादुर गुरुङ मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनकुटाको मूलघाटबाट तमोर नदीमा सुनसरीको चतारातर्फ जाँदै गरेको र्याफ्टिङ । आइतबार अपरान्ह सहिदभूमि गाउँपालिका १ सफाईधापमा दुर्घटना भएको थियो ।
र्याफ्टिङमा गुरुङ लगायत १० जना सवार थिए । गुरुङको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
र्याफ्टिङ पल्टिएर करिब ६० मिटर बगाएपछि तत्काल उद्धार गरिएको र्याफ्टिङमा सवार चेतनाथ सापकोटाले जानकारी दिए । उद्धार गरी उपचारका लागि धरान पुर्याइएका गुरुङको उपचारका क्रममा साँझ ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मूलघाटबाट पौने ११ बजे सुरु गरिएको र्याफ्टिङ अपरान्ह ४ बजे विरिन्टार सफाईधापमा पल्टिएर दुर्घटना भएको सशस्त्र प्रहरी बल धनकुटाका प्रहरी नायव उपरीक्षक बालकृष्ण श्रेष्ठले बताए ।
मृतक गुरुङ ब्लड प्रेसरका रोगी रहेको जनाइएको छ । सेतु एड्भान्चरद्वारा सञ्चालित र्याफ्टिङ बोट पल्टिँदा डुबेका तथा बगाएका अन्यको पनि तत्काल उद्धार गरिएको थियो ।
मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।









