उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा ऐलानी जमिनमा बसोबास गर्नेको संख्या अत्याधिक रहेको एक तथ्यंकले देखाएको छ । नगरपालिकाले अव्यवस्थिततवरले ऐलानी जमिनमा बसोबास गर्नेलाई व्यवस्थापन गर्नको लागि आव्हान गरेको आवेदन एक महिनामै १८ हजार ४ सय २२ वटा निवेदन दर्ता भएपछि ऐलानी जमिनमा बसोबास गर्नेको संख्या अत्याधिक रहेको खुल्न आएको छ ।
नगरपालिका राजश्व शाखा प्रमुख गुरु ढकालले एक महिना भित्र यति धेरै निवेदन दर्ता होला भन्ने कल्पनै नगरेको बताए । उनले भने,‘फागुन २० गतेदेखि चैत्र २१ गतेसम्म १ महिनाको म्याद राखेर आवेदन आव्हान गरेकोमा यो संख्याको आवेदन दर्ता भएको र अझै ३० प्रतिशत भन्दा बढी आउन बाँकी रहेको जानकारीमा आएपछि थप १० दिनको म्याद थपिएको छ ।उनका अनुसार एलानी जमिनमा बसोबास गर्नेको निवेदन २५ हजार पुग्ने अनुमान गरिएको छ ।
बजार र ग्रामीण क्षेत्रमा जताततै ऐलानी जमिनमा घर टहरा बनाएर बसोबास गरेको पाइएपछि त्यसलाई दीगो व्यवस्थापन गर्दै करको दायराभित्र ल्याउन नगरपालिकाले आवेदन माग गरेको थियो । ऐलानी जमिनमा बसोबास गरि रहेका नगरबासीको लगत संकलन गर्दै उनीहरुको व्यवस्थापन गर्न गत फागुन २० गतेदेखि खुल्ला गरेको आवेदन चैत २० गते बुधबारसम्ममा १८ हजार ४ सय २२ वटा दर्ता भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिका राजश्व शाखा प्रमुख गुरु ढकालले एक महिना भित्र यति धेरै निवेदन दर्ता होला भन्ने कल्पनै नगरेको बताए । उनले भने,‘फागुन २० गतेदेखि १ महिनाको म्याद राखेर आवेदन आव्हान गरेकोमा यो संख्याको आवेदन दर्ता भएको र अझै ३० प्रतिशत भन्दा बढी आउन बाँकी रहेको जानकारीमा आएपछि थप १० दिनको म्याद थपिएको छ । वडाध्यक्षहरुको रिपोर्ट अनुसार अझै १० हजार भन्दा बढी आवेदन आउँन बाँकी रहेको नगरपालिकाले जनाएको छ । नगरबासीलाई सोझै नगरपालिकामा र वडावडामा आवेदन दिन सहज होस् भनेर वडावडामा फाराम छापेर पठाइएको छ ।
ढकालका अनुसार सुरुमा १० हजार फाराम छापेर पठाइएकोमा १५ दिनमै सकिएपछि थप २० हजार छापेर वडामा पठाइएको छ । यति फारामले पनि नपुग्ने हो कि भन्ने अनुमान जनप्रतिनिधिले गरेको उनले बताए । नगरपालिकाले एउटा निवेदन वापत ५० रुपैयाँ शूल्क तोकेको छ । जस अनुसार अहिलेसम्म ९ लाख बढी राजश्व असुली भइसकेको छ । नगरपालिकामा मात्र ५ लाख राजश्व संकलन भइसकेको र वडावडामा संकलित राजश्व जम्मा हुने क्रम जारी रहेको ढकालले बताए । अव्यवस्थित बसोबास र ऐलानी जमिनको अतिक्रमण बढ्दै गएको गुनासो आएपछि नगरपालिकाले सार्वजनिक जमिन भोगचलन गर्दै आएका नगरबासीलाई व्यवस्थापन गर्न गत माघमा कार्यविधि पारित गरेको थियो ।
नगरपालिकाले ‘ऐलानी जग्गा विवरण संकलन, अभिलेखीकरण र व्यवस्थपन कार्यविधि’ निर्माण गरी गत माघ ८ गतेको कार्यपालिका बैठकबाट पारित गरेको थियो । सोही कार्यविधि अनुसार वडा नं. १२ का वडाध्यक्ष जयविक्रम राईको संयोजकत्वमा नगर स्तरीय ‘ऐलानी जग्गा विवरण संकलन, अभिलेखीकरण र व्यवस्थापन समिति’ गठन गरी कार्यालय सञ्चानमा ल्याएको छ । सो समिति मातहत रहने गरी प्रत्येक वडामा वडास्तरीय समितिहरुसमेत गठन गरेर परिचालन गरिएको वडाध्यक्ष राईले बताए ।
उनका अनुसार प्रत्येक वडामा ऐलानी तथा सार्वजनिक जमिनमा बसोबास गर्नेहरुको संख्या अत्याधिक छ । त्यसमा पनि गाईघाट सेरोफोराका वडाहरु १०, ११, १२, १३ र ३ तथा यीसँग जोडिएका ४, ५, ६, ७, ८, ९ नं. वडामा ऐलानी जमिनमा बसोबास गर्नेको संख्या धेरै रहेको उनले बताए । ‘गाईघाटमा सहरीकरण बढेसँगै सार्वजनिक र ऐलानी जग्गामा बसोबास गर्ने क्रम पनि बढ्दै गयो’ सयोजक राईले भने ‘त्यसमाथि स्थानीयतह पुनर्संरचनापछि यो क्रम रातारात बढेको पाइएपछि नगरपालिकाले व्यवस्थापन गर्न कार्यविधि बनाएर काम अघि बढाएको हो ।
परेका आवेदन उपर समितिले छानविन गर्दै वास्तविक्ता बुझ्न सर्भेक्षण टोली गठन गरी घट्नास्थल खटाएर जमिनको सर्जमिन मुचुल्का उठाउँने कार्यविधिले तय गरेको छ । वास्तविक भोगचलन गर्ने पत्ता लगाउँदै जग्गाधनीको यकिन भएपछि कानुन अनुसार मालपोत कार्यालयमा दर्ता प्रक्रिया अघि बढाएर जमिनको स्वामित्व दिइने छ । यसो गर्दा सबै जमिनको दीगो व्यवस्थान हुने र राजश्व पनि बढ्ने नगरपालिकाको लक्ष्य छ ।
त्यसबाहेक बाँकी जमिनलाई पनि रावश्वको दायराभित्र ल्याउने कार्यविधिमा व्यवस्था गरिएको छ । सर्जमिन मुचुल्का तयार गर्दा जमिनको प्रकृति अनुसार प्रतिकठ्ठा ५० देखि १ सय ५० रुपैंयासम्म राजश्व लिने शूल्क दर कार्यविधिले तय गरेको छ । मालपोतमा दर्ता नहुनेलाई प्रकृति अनुसार बर्ग विभाजन गरेर बितौरी (भाडा) लिएर जमिनलाई रावश्वको दायरामा ल्याउने कार्यविधिमा उल्लेख छ ।
नगरप्रमुख बलदेव चौधरीले त्रियुगामा वर्षौंदेखि बसोबास गर्दै आएका हजारौं घरधुरी ऐलानी र सार्वजनिक जमिनमा रहेको तर, यसको व्यवस्थापन नहुँदा समस्या भएकाले दीगो समाधानको उपाय निकाल्न कार्यविधि बनाएर नगरपालिका अघि बढेको बताए । नगरपालिकाका उप मेयर देवी कुमारी चौधरीका अनुसार त्रियुगामा १ लाख ७ हजार ४ सय जनसंख्या रहेको त्रियुगामा २१ हजार हाराहारी घरधुरीको बसोबास रहेको छ । जसमध्ये झण्डै ६५ प्रतिशत हाराहारी हिस्सा ऐलानी जमिनमा पक्की र कच्ची संरचना बनाएर वर्षैदेखि बसोबास गर्दै आएको पाइएको छ ।









