उदयपुर । जिल्लाका ‘राम्रा’ भनिएका मुंगेरिया स्वीट एण्ड चाट हाउसका भान्सामा फोहर र बालश्रमिक रहेको पाइएको छ । बुधबार त्रियुगा नगरपालिका ११ स्थित मुंगेरिया स्वीटस एण्ड चाट हाउसका भान्सा फोहर र बालश्रमिक रहेको पाईएको थियो ।
रेडियो नेपालका उदयपुर सम्वाददाता तथा स्थानीय पत्रकार निगरानी अनलाइन संचालक गजेन्द्र राई र जनता टेलिभिजनका पत्रकार तथा नागरिक बहस अनलाइन संचालक सुखिलाल चौधरीले नाम चलेको मुंगेरिया स्वीटस एण्ड चाट हाउसमा मःमः खान गएको समयमा भान्सा फोहर र बालश्रमिक प्रयोग गरेको पाईएको हो । पत्रकारद्वयले मःमः खान लाग्दा चम्चा र काँटा फोहर देखिएको र चम्चा साटेर ल्याउन अनुरोध गरेको रेडियो नेपालका उदयपुर सम्वाददाता गजेन्द्र राईले बताए । ‘मःमः खान मुंगेरिया स्वीटस एण्ड चाट हाउसमा गएको मःमः पनि अडर गरियो तर, अडर अनुसार मःमः लिएर आएपनि चम्चा र काँटा फोहर देखियो, चम्चा साट्न लगाईयो तर, फेरी पनि फोहरै चम्चा र काँटा लिएर आयों ।’ उनले भने, ‘चाट हाउसमा रहेका कामदारले चम्चा साटेर ल्याई दिएपनि दोस्रो पटक फोहर नै चम्चा र काँटा दिए, पुनः तेस्रो पटक चम्चा र काँटा साटेर ल्याउन लगाउँदा पनि तेस्रो पटक फोहर नै चम्चा ल्याईदिए । त्यसपछि फेरी चौथो पटक चम्चा साटेर ल्याउन लाग्दा समेत फोहर नै चम्चा ल्याई दिएको थियो ।’
पटकै पिच्छै फोहर चम्चा बारम्बार ल्याईदिएपछि पत्रकारद्वयले जिल्ला प्रशासन कार्यालय उदयपुरलाई अनुगमनको लागि खबर गरेको थियो । जिल्ला प्रशासन कार्यालय उदयपुरका नायव सुब्बा तोयानाथ ढकाल सहितको नेतृत्वको टोलीले अनुगमन गरेको थियो । अनुगमनमा भान्साको सरसफाइमा ध्यान नदिएको, पकाएर राखिएका सामान सुरक्षित नरहेको समेत देखिएको थियो । खानेकुरालाई राम्ररी छोपेर नराखेको समेत पाईएको थियो । यस्तै मुंगेरिया स्वीटस एण्ड चाट हाउस संचालकका भाई विटु साहले अवका सरसफाईमा ध्यान दिने भन्दै कसैलाई नभन्न अनुरोध गरेका थिए ।
नायव सुब्बा ढकालले भने, ‘अनुगमनको क्रममा पसलले ग्राहकलाई दिने चम्चा लगायतका भाडाकुडा फोहर भएको पाईएको र बाल श्रमिक रहेको हुँदा ३ दिन भित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थितको लागि पत्रचार गरेको छौं ।’ साथै भान्सा घरभित्र डस्टबिन खुला छाडिएको, फोहर भाँडा र ताजा तरकारी एकै ठाउँमा राखेको पाईएको थियो । दुधजन्य पदार्थ छोपिएको पाइएन, अन्य चम्चा र काँटा फोहरै पाइएको थियो ।
जिल्लाका अधिकांश सरकारी कार्यालयहरु तथा गैरसरकारी संघ संस्थाले आयोजना गरेको कुनै कार्यक्रममा सहकारी खाजाको अर्डर गर्दा यसै मुंगेरिया स्वीटस एण्ड चाट हाउसबाट मगाउने गरेको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया