रिता राउत, उदयपुर । महिला पुर्नंस्थापना केन्द्र ओरेक नेपाल उदयपुरकोे २८ औँ वार्षिक उत्सव सोमबार सम्पन्न भएको छ । ओरेक नेपालको आफ्नै सभाहलमा २८ औं वार्षिक उत्सव सम्पन्न भएको हो ।
ओरेक नेपालले वार्षिक उत्सवमा सामाजिक परिक्षण समेत गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथी तथा जिल्ला समन्वय समिति उदयपुरका सहसंयोजक गंगा राईले कानून बनाउने अधिकार स्थानीय सरकारको भएकाले यसमा सवै महिला दिदिवहिनीले चनाखो लिनु पर्ने बताए । उनले महिलामैत्री कानून ल्याउन स्थानीय तहका महिला जनप्रतिनिधीहरुको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताईन् ।
गैसस महासंघका केन्द्रिय सल्लाहकार सिर्जना दनुवारले ओरेक नेपाल स्थापना भएको कारणले महिलाको सशत्तिकरण, नेतृत्व विकासदेखि लिएर हरेक क्षेत्रमा महिलाको सहभागीतामा अहम भूमिका खेलेको वताईन ।
महिला मानव रक्षक संजाल उदयपुरका अध्यक्ष माया भण्डारीले महिलाहरु हरेक ठाउँबाट हिंसामा परिरहेका बेलामा आफ्ना लागि कोहि नहुँदा त्यो वेलामा ओरेक नेपाल रहेको बताईन । उनले भनिन् “लैङ्गिक हिंसा पीडित महिलाहरुलाई कर्म दिने ठाउँ भनेको ओरेक नेपाल हो” । उनले हिंसामा परेका महिलाहरुको लागि जन्म घर, कर्म घरको रुपमा ओरेक नेपालको जन्म भएको बताईन् ।
नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले हिजोका महिलाभन्दा आजको महिलाहरु धेरै अगाडी छन्, तर, यति पर्याप्त छैन, अव महिलाहरु आफै सक्षम हुनु जरुरी रहेको वताए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै ओरेक नेपाल उदयपुरका मनोविमर्शकर्ता कमला खड्काले अहिले जिल्लाका ४ नगरपालिका र ३ गाउँपालिकामा रहेका महिला, बालबालिका तथा कृषिको क्षेत्रमा काम गरिरहेको वताईन । उनले आरेकले लैंगिक हिंसाका क्षेत्र सँगसँगै महिलाहरुको नेतृत्व विकासका लागि समुदायमा महिला समूह गठन गर्दै आएको बताईन् ।
कार्यक्रममा ओरेक नेपालले एक वर्षभरि गरेका वार्षिक कार्यक्रम र भावी योजनाको बारेमा कार्यक्रम अधिकृत सुमिन्त्रा कोईरालाले प्रस्तुत गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया