बारा । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५ सय भन्दा बढी घाइते छन् । हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन ।
घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
आइतबार राति हावाहुण्डरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख प्रकट गरेको छ । सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहत स्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट ३१ जनाभन्दा बढीको मृत्यु भएको छ ।
कलैया, वीरगञ्ज लगायतका अस्पतालहरुमा ४ सय भन्दा बढी घाइतेहरु उपचारत छन् । उपचारका क्रममा थप केही घाइतेको समेत निधन भएका समाचारहरु आइरहेका छन् । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन् ।









