उदयपुर । उदयपुरमा एक सामुदायिक वन उपभोक्ता समूहका पूर्व उपाध्यक्षद्वारा वर्तमान अध्यक्षमाथि कुटपिट गरेको छ । त्रियुगा नगरपालिका १३ असारी सामुदायिक वन उपभोक्ता समुहका पूर्व उपाध्यक्षद्वारा विष्णुबहादुर थापा उर्फ मणिडनले वतर्मनमा अध्यक्ष ७२ वर्षिय वर्णलाल दाहालमाथि कुटपिट गरेपछि गम्भिर घाइते भएको गाईघाट डिभिजन वन कार्यालय जानकारी दिएको छ ।
गए शुक्रबार राती वनमा डढेलो लगाउँदै गरेको अवस्थामा पूर्व उपाध्यक्ष भेटिएपछि वर्तमान अध्यक्ष दाहालले प्रहरी र वन कर्मचारीलाई किन खवर गरेको भन्दै कुटपिट गरी गम्भिर घाइते बनाएको डिभिजन वन कार्यालयका सूचना अधिकारी जागेश्वर साहले जानकारी दिए । ‘वनमा डढेलो दिनप्रतिदिन नियन्त्रण गर्ने प्रयास जारी थियो,’ उनले भने, ‘सावउसका पदाधिकारीहरु राती राती छडके गर्न जाने गरेका थिए, त्यही क्रममा असारी सावउसका अध्यक्ष लगायतका पदाधिकारी जादाँ सोही सावउसकै पूर्व उपाध्यक्ष थापाले डढेलो लगउँदै गरेको अवस्थामा भेटिएछन, किन सुराकी गरिस भन्दै कुटपिट गरेका छन ।’
कुटाई खाने ७२ वर्षे बृद्ध अध्यक्ष दाहाल अहिले गाईघाटमा रहेको सिभिल हस्पिटलमा उपचार गराईरहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत गौरव भट्टले बताए । ‘कुटाई खाने अध्यक्षको ढाड, टाउँको लगायतका शरिरका विभिन्न भागमा चोट लागेको छ,’ उनले भने, ‘उपभोक्ताहरुले नै पक्राउ गरेर पूर्व उपाध्यक्षलाई प्रहरीको जिम्मा लगाएका रहेछन ।’
वनमा आगो लगाउने पूर्व उपाध्यक्षले अध्यक्ष दाहालसँगै सोही सावउसका उपभोक्ता भविन्द्र थापालाई पनि कुटपिट गरेका छन । डिभिजन वन कार्यालयका अनुसार गए राती नै असारी सावउसमा लागेको डढेलोले ३० देखि ४० हेक्टर वन सखाप भएको छ । ‘वन ऐन अनुसार कारवाही गर्ने छौ,’ भट्टले भने, ‘वन ऐन अनुसार ३० देखि ५० हजारसम्म विगोको क्षतिपुर्ति तिर्नु पर्छ, अनि घाइतेको उपचार गर्नुपर्छ ।’
यसैगरी वनमा डढेलो लगाउने क्रममा भेटिएका देउराली सावउस चौदण्डीगढी नगरपालिका ३ मा एक जनालाई जरिवान तिराइएको छ । वनमा आगो लगाउने दिलिप तामाङलाई ३२ हजार ५ सय जरिवाना गरिको वन डिभिजन कार्यालयले जानकारी दिएको छ ।









