उदयपुर । उदयपुरमा भालुको आक्रमणबाट घाइते भएका एक वृद्धको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । कटारी नगरपालिका १ बेलस्रोत बस्ने ७७ वर्षीय वृद्ध नैन बहादुर पहरी नेवार फागुन २७ गते भालुको आक्रमणमा परी घाइते भएका थिए ।
स्थानीय चुरिया जङ्गलमा घाँस काट्न गएको समयमा भालुको आक्रमणमा परि घाइते नेवारको आर्थिक अवस्था कमजोरका कारण समस्या भएका हुन् । घाइते वृद्धको उपचारको लागि विराटनगर स्थित नोबेल अस्पताल लगिएपनि बिरामीलाई राम्रोसँग नहेरेको भन्दै उनका जेठो छोरा वेग बहादुर पहरीले विराटनगर अस्पताल प्रा.लि.मा राखेर उपचार गराईरहेको छ । उनले भने, ‘१ लाख ऋण खोजेर बुवाको उपचार सुरु गरेका पहरीको अहिले ६ लाख भन्दा बढी खर्च भैसकेको अस्पताल स्रोतले जनाएको छ ।’ आफुहरुको आर्थिक अवस्था कमजोर भएका कारण बुवाको उपचार गर्न समस्या भएको बताउँछन् । अझै केही समय अस्पतालमै राखेर उपचार गर्नु पर्ने अस्पतालले जानकारी दिएपछि आफुहरुलाई समस्या परेको घाइतेका छोरा बेग बहादुरले बताए ।
सामान्य घर परिवार भएका उनीहरूको आर्थिक अवस्था अत्यन्त कमजोर भएको कटारी १ का वडाध्यक्ष नवराज पोखरेलले बताएका छन् । उनीहरूको ऐलानी जग्गा १ कट्ठा मात्र रहेको उनीहरूले अरूको खेती बटिया गरेर जीविका चलाइरहेका थिए । बुवाको उपचारमा लागेको ६ लाख तिर्न सक्ने अवस्था नभएपछि उनीहरूले संघ संस्था र सहयोगी व्यक्तिहरूलाई सहयोगको आचना गरेको छ । छोरा वेग बहादुर पहरीको नाममा माछापुछ्रे बैंक कटारी शाखामा खाता नम्बर ९७२२५२४६८८६८५०९८ मा रकम जम्मा गरेर पनि सहयोग गर्न सकिने परिवारले जनाएको छ ।









