
उदयपुर । सञ्चारिका समूहले उदयपुरको सदरमुकाम गाईघाटमा आयोजना गरेको लैङ्गिक हिंसा न्यूनीकरणका लागि मोबाईल पत्रकारिता (मोजो) तालिम शुक्रबार सम्पन्न भएको छ । स्वीस सरकार र यूएनएफपीएको आर्थिक सहयोगमा तीन दिनसम्म सञ्चालित तालिमको समापन भएको हो ।
तालिमको समापनमा नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भरत खड्काले पत्रकारिता गर्दै आएकोलाई यस मोबाईल पत्रकारिता तालिमले थप उर्जा मिलेको बताए । यस तालिमले प्रविधि पत्रकारिता गर्नेलाई सिक्ने अवसर मिलेको र यस किसिमको प्रविधिलाई सदुपयोग गर्न अनुरोध समेत गरेका थिए । उनले मोजो तालिमले सूचना प्रविधिसँग राम्रो पहुँच हुने भएकोले आफुले तालिममा सिकेको प्रविधिलाई सिरानीमा होइन व्यवहारमा उतार्दै लैजान अनुरोध गरेका थिए । मोजो तालिमले नयाँ नयाँ प्रविधि अनलाइन, भिडियो तथा फोटो पत्रकारलाई थप टेवा पुगेको समेत बताए ।
यस्तै सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले जति जति नयाँ प्रविधि आएपनि महिलालाई नै असर पार्ने भएकोले यस तालिमले केही हदसम्म न्यूनीकरण गर्न तर्फ प्रेरित गर्ने बताईन् । उनले मोजो तालिमले लैङ्गिक हिंसा न्यूनीकरणमा जोड दिन सक्ने खालको समाचार सम्प्रेशन गर्न समेत अनुरोध गरेकी थिईन् । विषेशत लैङ्गिक हिंसा न्युनिकरणको लागि सञ्चार माध्यम र संचारकर्मीको भूमिका महत्वपूर्ण हुने भएकोले तालिमले लैङ्गिक हिंसाको रिर्पोटिङमा सुधार आउने विश्वास लिएको अध्यक्ष पण्डितले बताईन् । उनले तीन दिने तालिम बेसिक मात्रै भएकोले आवश्यकता अनुसार एडभान्स तालिममा जान सकिने बताईन् ।
तालिमले फोटो खिच्ने तरिका, अरु भन्दा फरक फोटो कसरी खिच्न सकिने, लैङ्गिक हिंसामा परेका महिलाहरुको फोटो, भिडियो र अडियो कसरी लिन सकिने लगायत विषयमा तालिम भएको थियो । तालिममा सा–साना भिडियो, अडियो र फोटो मार्फत सामाचार कसरी सूचनाप्रबाह गर्न सकिने लगायतका विषयमा प्रमुख प्रशिक्षक विकास कार्की र सहायक प्रशिक्षक नविन सिलवालले गरेका थिए । तालिममा सहभागीहरुले मोजो तालिम फलदाई भएको बताए । उनीहरुका अनुसार सूचना प्रविधिलाई जनतासम्म अझै सशक्त ढंगमा पुर्याउन यस तालिमले थप टेवा पुग्ने बताएका थिए ।
तालिममा सहभागीलाई प्रमाणपत्र सञ्चारिका समूहका अध्यक्ष नितु पण्डित र नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भरत खड्काले संयुक्त रुपमा वितरण गरेका थिए । तालिममा उदयपुर, ओखलढुंगा र सिन्धुली गरी २१ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।









