
जनकपुरधाम । शनिवार हुने एसईई परीक्षाको अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र समेत आउट भएको छ । प्रश्नपत्र आउट हुनेमा यो तेस्रो विषयको हो ।
प्रश्नपत्र सामाजिक संजाल फेसबुकमा फेला परेको हो । ‘सुमन आयो बाटो छार’ नामबाट संचालित फेसबुकमा स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको प्रश्नपत्र शेयर गरिएको छ । तर त्यो प्रश्नपत्र सक्कली हो वा होइन् आधिकारीक रुपमा पुष्टि हुन सकेका छैन ।
प्रदेश २ मा एसईई परीक्षाको सबै विषयको प्रश्नपत्र आउट भएको आशंका गरिएको छ । विहिवार परीक्षा अगावै विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि परीक्षा रद्द गरियो । शुक्रवार हुने भनिएका सामाजिक विषयको प्रश्नपत्र पनि आउट भएपछि परीक्षा नै स्थगित भयो ।
परीक्षा रद्द भएपछि आक्रोसित विद्यार्थीहरु प्रदेश २ का आठै जिल्लामा प्रदर्शन गरिएको छ । कतिपय ठाउँमा प्रहरी र परीक्षार्थीबीच झडप भएको हो । सर्लाहीमा आक्रोसित परीक्षार्थी तोडफोडमा उत्रेपछि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहामा एक परीक्षार्थीलाई प्रहरीले कुटपिट गरेको छ ।









