उदयपुर । रौतामाई गाउँपालिका २ डुम्रेका पाँच घर अग्नी पीडितलाई नेपाल कम्युनिष्ट पार्टी नेकपा उदयपुरका कार्यदलले २५ बण्डल जस्तापाता वितरण गरेको छ । बुधबार विहान नेकपाका केन्द्रिय सदस्य तथा कार्यदल संयोजक बलदेव चौधरी, प्रदेश सदस्य इश्वरमणि राउत, नेकपाका युवा नेता परमेश्वर घिमिरे, जीवन कार्की, महेश्वरी राई तथा जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राई लगायतको उपस्थितिमा प्रति परिवार पाँच पाँच बण्डल जस्तापाता हस्तान्तरण गरेका हुन् ।
गत फागुन ११ गते भएको भिषण आगलागीबाट पाँच घर र ७ वटा गोठ जलेर नष्ट भएको थियो । बस्ती नै सखाप हुने गरी भएको आगलागीमा परेका पीडितहरुलाई अस्थायी घर बनाउन नेकपा उदयपुरका कार्यदलले सो निर्णय गरेको थियो ।
आगलागीबाट कमल कार्की, ज्ञानबहादुर कार्की, राजेन्द्र कार्की, विदुर कार्की र दीपक कार्कीको घर र गोठ जलेर नष्ट भएको थियो । आगलागीबाट खोरमा थुनेर राखिएका खसी र बाख्रा मात्रै ४६ वटा जलेको थियो । आगोले कमलको एउटा घर, दुईवटा गोठ, विदुरको एउटा घर र एउटा गोठ, दीपकको एउटा घर र दुईवटा गोठ, राजेन्द्रको एउटा घर र एउटा गोठ तथा ज्ञानबहादुरको एउटा घर एउटा गोठ जलेर नष्ट भएको थियो ।









