उदयपुर । त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीले लैंगिक हिंसा न्यूनीकरण आफ्नैबाट शुरु गर्नु पर्ने बताएका छन् । सञ्चारिका समूहले उदयपुरको सदरमुकाम गाईघाटमा आयोजना लैङ्गिक हिंसा न्यूनीकरणका लागि मोबाईल पत्रकारिकता तालिमको उद्घाटन गर्दै मेयर चौधरीले उक्त कुरा बताएका हुन् ।
लैङ्गिक हिंसा न्यूनीकरण अभियान्ताहरुको घरमै हिंसाका घटनाहरु बेलाबेलामा आउने गरेको हुनाले पहिले आफ्नैबाट न्यूनीकरणमा जोड दिनु पर्ने बताए । हाम्रो समाजमा छोरा र छोरी हेर्ने दृष्टिकोण अहिले पनि फरक फरक भएकोले हिंसा ज्यूका त्यू रहेको बताए । उनले आफ्नो घरमा जवसम्म महिला हिंसा न्यूनीकरण गर्न सकिदैन तवसम्म समाज रुपान्तरण गर्न नसक्ने बताए । कानूनमा रुपान्तरण गर्न भनिएपनि व्यवहारमा कुनै परिवर्तन नआएको बताए । कानूनमा समानता भएपछि व्यवहार अहिले पनि पहिलेको जस्तै छ । सासु बुहारी विचको झगडा, श्रीमान श्रीमतिको विचको झगडा, छोरालाई निजी र छोरीलाई सरकारी विद्यालय पढाउने चलन अझैपनि कायमै रहेको छ ।
पत्रकारितामा महिलाहरुको सहभागिताको बढाउन आगामी वर्षको बजेटमा त्रियुगा नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्ने उनले प्रतिवद्धता पनि जनाए । उनले थपे, ‘राजनीति र प्रविधी दुबैमा धेरै परिवर्तन आएकोले पत्रकारिताले पनि त्यही अनुसार आफूलाई विकसित गर्नुपर्ने छ ।’ मेयर चौधरीले लैङ्गिक हिंसा न्युनिकरणको लागि संचार माध्यम र संचारकर्मीको भूमिका महत्वपूर्ण हुने भएकोले तालिमपछि लैङ्गिक हिंसाको रिपोर्टिङमा सुधार आउने विश्वास पनि व्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख गंगा राईले पत्रकारितामा महिलालाई टिकाई राख्न मोबाईल पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
सोही कार्यक्रममा सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले मोवाईल पत्रकारिता नयाँ तालिम भएको भन्दै प्रदेश नम्बर १ बाट नै तालिम सुरु थालिएको बताइन् । उनले समूहले सकेसम्म सातै प्रदेशका पत्रकारलाई लैंगिक हिंसा घटाउन पत्रकारिताबाट सहयोग हुने गरि प्रविधिमैत्री तालिम दिने योजना बनाएको पनि बताएकी थिइन् ।
उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश नं १ का सचिव हरिकुमार राई, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, यूएनएफपीएका प्रतिनिधी चन्द्र ज्ञावालीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
उदयपुर सदरमुकाम गाईघाटमा सुरु भएको तालिम तीन दिनसम्म संचालन हुने जनाइएको छ । उदयपुर, ओखलढुंगा र सिन्धुलीका २१ जना पत्रकारहरुको सहभागिता भएको तालिम शुक्रबारसम्म चल्ने आयोजकले जनाएको छ ।









