उदयपुर । उदयपुरमा बैवाहिक बलात्कार गरेको कसुरमा एक जनालाई जिल्ला अदालतले ३ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्लामा पहिलो पटक वैवाहिक बलात्कार गरेको कसुरमा एक जनालाई अदालतले ३ वर्ष कैद सजायको फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले आइतबार ४५ वर्षिय एक जनालाई कैद सजाय सुनाएको हो । ३८ वर्षिया पत्नीलाई इच्छाविपरित करणी गरेको कसुर ठहर गर्दै अदालतले यस्तो फैसला सुनाएको हो । अदालतले अभियुक्तलाई ७ वर्षिया छोरीलाई यौन दुव्र्यवहार गरेको कसुरमा भने सफाइ दिएको छ ।
मुलुकी ऐन जवरजस्ती करणीको महल ३ (६), मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २१९ को उपदफा (४) मा व्यवस्था भए वमोजिम ३ वर्ष कैद सुनाइएको हो । तर, ऐनमा यस्तो प्रकृतिको मुद्दामा ५ वर्षसम्म कैद गर्ने व्यवस्था छ ।
शारिरीक अवस्था कमजोर रहँदा समेत ०७५ साउन २१ गते कसुरदारले इच्छाविपरित जबरजस्ती पटक–पटक करणी गरेको र ७ वर्षीया छोरीलाई समेत साउन २१ गते यौन दुव्र्यवहार गरेको भन्दै अभियुक्तकी श्रीमतीले भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।
पीडितले दिएको निवेदनको आधारमा भोलिपल्ट भदौ ५ गते पक्राउ परेका कसुरदारलाई अदालतले भदौ ३१ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । निवेदनसँगै कानुनी प्रक्रियाका लागि प्रहरीले प्रमाण जुटाउन आमा र छोरी दुबैलाई भदौ ५ गते जिल्ला अस्पतलामा स्वास्थ्य जाँच गराएको थियो ।
अदालतमा वैवाहिक बलात्कार सम्बन्धी हालसम्म दुई वटा मुद्दा दर्ता भई सुनुवाईको प्रक्रियामा रहेको छ ।

तपाईको प्रतिक्रिया