
सुखिलाल चौधरी, उदयपुर । अमेरिकी अन्तरिक्ष नियोग ‘नासा’ (firms.modaps.eosdis.nasa.gov )ले उदयपुरको चुरे तथा महाभारत क्षेत्रका ४ सय भन्दा बढी वन क्षेत्रमा डढेलो लागेको जनाएको छ । नासाले एक हप्ताको रेकर्डमा उदयपुरको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रको ४ सय भन्दाबढी ठाउँमा डढेलो लागेको जनाएको छ । उदयपुरको डिभिजन वन कार्यालय त्रिवेणी भन्दा डिभिजन वन कार्यालय गाईघाट क्षेत्रमा बढी डढेलो लागेको देखिन्छ ।
नासाका अनुसार नेपालको चुरे तथा महाभारत क्षेत्रको उदयपुरमा सवैभन्दा बढी डढेलो लागेको छ । नासाको रेकर्डमा चुरे तथा महाभारत जंगल क्षेत्रमा चैत्र ४ गतेदेखि चैत्र १० गतेसम्मको रेकर्डमा यस्तो तथ्याङ्क देखिएको हो ।
डढेलोबाट सामुदायिक वन क्षेत्रका दर्जनौ बस्ती उच्च जोखिमा परेको छ । चुरे जंगल क्षेत्रमा चैत ४ गते देखि लागेको डढेलोको कारण उदयपुरका दर्जनौ बस्ती आगोको जोखिममा परेका छन ।
डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय गाईघाट मातहतका कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ, सामुदायिक वन, स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय निकायले दैनिक जसो प्रयास गरेपनि सफल हुन सकेको छैनन् । सुख्खा मौसम तीब्र गतिमा चलेको हावाहुरी, चुरे तथा महाभारत क्षेत्रको भू बनोटले गर्दा डढेलो नियन्त्रण बाहिर गएको डिभिजन वन कार्यालय गाईघाटका डिभिजन प्रमुख बिष्णुप्रसाद आचार्यले बताए ।
होलीको बिदामा सबै कर्मचारी घर बिदामा गएको र उपभोक्ता समेत चाड मान्न थालेकाले सो दिन देखि डढेलो बढी फैलिएको हो, वन अधिकृत आचार्यले भने । उनका अनुसार डिभिजन वन कार्यालय मातहत २ सय सामुदायिक वन मध्ये १ सय वटामा डढेलो लागेको अनुमान गरिएको छ । जसमा राष्ट्रिय तथा सामुदायिक वन क्षेत्र गरि करिब ७ हजार हेक्टर भन्दा बढी क्षेत्रमा डढेलो लागेको हुन सक्ने अनुमान गरिएको छ ।
हावाहुरी सुख्खा मौसमले गर्दा डढेलो नियन्त्रण बाहिर गएको हो । जंगलमा लागेको डढेलो गाउँबस्तीमा नजिकै आएपछि चौदण्डीगढी, त्रियुगा, कटारी नगरपालिकाले दमकल प्रयोग गरि बस्तीमा आउनबाट जोगाएको त्रियुगा नगरपालिका नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए ।
दमकलले बस्ती नजिकेको आगो निभाएता पनि जंगलको आगो भने नियन्त्रण गर्न सकेको छैनन् । हावाहुरीले कुनै पनि समय डढेलो बस्तीमा छिर्ने डरले स्थानीय रातभर सुत्न सकेका छैन । जंगलको डढेलो बस्तीमा पस्ने खतरा भएकाले स्थानीय नियन्त्रणका लागि विभिन्न तरीकाले नियन्त्रणको प्रयासमा जुटेको छ ।

तिन दिनयता चुरे तलका बस्तीका सर्बसाधारण रातभर सुतेका छैनन् । चौदण्डिगढी नगरपालिकाको सुन्दरपुर, सिवाई, अजगढा, मुसहरनीया, खैराझोडा, अधेरी लगायत मानव वस्ती आगोको जोखिमा छन । यी बस्तीसंगै जोडिएको चुरे जंगलमा भिषण डढेलो लागेको स्थानीयबासीले बताए । त्यसैगरि त्रियुगा नगरपालिकाको जोगिदह, मैनी, खैजनपुर, झुल्के, चाँप, फर्सेट, बगाहा, श्रीपुर, बालुवाटार, जलजले, लालपत्ता लगाएका बस्तीमा आगो पस्ने जोखिम रहेको छ ।
यता कटारी नगरपालिकाको रिस्कु, शुक्रबारे, दमार, त्रिवेणी, उदयपुरगढी गाउँपालिका– ७ को बिरालीटार, हाडेबास लगायतका बस्तीमा जोखिम रहेको स्थानीयबासी शान्तराम बिकले जाकारी दिए । चुरे क्षेत्रमा डढेलो बढदै जदाँ जंगली जवार गाउँवस्तीमा प्रवेश गरेका छन । डढेलोबाट जोगिन गाँउबस्तीमा प्रवेश गरेका निलगाई, घोरल, चित्तल लगायत जंगली जनावरले खेतमा लगाईको मकै खेती नष्ट गरि दिएको चौदण्डिगढी नगरपालिका– ५ सुन्दरपुरका स्थानीय किसानको भनाई रहेको छ ।
जंगलमा आगलागी हुदा जंगली जनावरको बाँस स्थान डढेपछि उनीहरु गाउँ बस्तीमा परेका हुन । यसरी जंगलको आगो गाँउवस्तीमा सुख्खा मौसमसगै बढ्दै गएको छ । झण्डै डेढ ३ हजार हेक्टर वन क्षेत्रमा अहिले आगो लागि रहेको वन कार्यालयले अनुमान गरेको छ । डढेलो बढै गइरहेको वन कर्मचारी बताउँछन । ठूलो क्षेत्रमा डढेलो लागेकोले नियन्त्र गर्न समस्या भएको तर अब गाउँबस्तीको जोखिम क्षेत्रमा आउने डढेलोलाई उपभोक्ता, कर्मचारी, प्रहरी र स्थानीय तहको दमकललाई तयारी अवस्थामा राखि नियन्त्रण उन्मुख रहेको डिभिजन वन अधिकृत आचार्यको भनाई रहेको छ ।
समथर क्षेत्रमा सामुदायीक वन उभोक्ता समुह, वन कर्मचारी र स्थानीय तहमा रहेका बारुणा यन्त्र (दमकल) प्रयोग गरेर नियान्त्रण गर्ने प्रयास गरिए पनि मध्य भाग र दुर्गम क्षेत्रमा डढेलो त्रमिक रूपमा बढै गएको सामुदायीक वन उपभोक्ता महासंघका उदयपुर अध्यक्ष कुशलबाबु बस्नेतले बताए ।
सामुदायीक वन उपभोक्ता समूह, वन कार्यालयहरू, स्थानीय प्रहरी प्रशासन सहित सरोकारवालाको बैठकले नियन्त्रणका लागि प्रयास गर्ने निर्णय गरेको छ’ महासंघका अध्यक्ष बस्नेतले भने, ‘सुख्खा मौसम बढिरहेको अवस्थामा हावाहुरी तिव्रगतिमा चलेकोले नियन्त्रण गर्न समस्या भएको छ । तर पनि नियन्त्रणका लागि स्थानीय तहका बारुण यान्त्र, समुहका सदस्य, सर्बसाधारणले बस्ती जोगाउन प्रयास गरिरेको उनले बताए ।
कटारी, त्रियुगा र चौडण्डिगढी नगरपालिकाको समथर क्षेत्रमा दमकल प्रयोग गरेर आगो नियन्त्रण गरिएको छ । जंगल क्षेत्रमा जोडिएको मानव बस्तीमा डढेलो प्रवेश गर्न नदिन प्रयास गरिएको त्रियुगा नगरपालिका नगर प्रमुख बलदेव चौधरीले बताए । ‘चुरे क्षेत्रमा आगो नियन्त्रण बाहिर रहेकोले गाँउ वस्तीमा प्रवेश हुन नदिन प्रयास भइरहेको छ’ नगर प्रमुख चौधरीले भने, ‘२४ सै घण्टा दमकल सहित कर्मचारी, स्थानीय, सुरक्षाकर्मी तैनाथ छन । दैनिक रुपमा दमकलले भ्याए सम्म आगो नियन्त्रण गरि राखेकाछौं ।
अनियन्त्रीत डढेलो कुनै पनि समय वस्तीमा पस्न सक्ने खतरा रहेको स्थानीयबासीले बताए । डढेलो लाग्नबाट बचाउन वन कर्मचारी, मातहतका कार्यालय र सामुदायिक वन समूहहरूलाई सचेत गराइएको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी सहायक वन अधिकृत जागेश्वर साहले बताए । डढेलो नियन्त्रणको प्रयास भईरहेको छ, तर साधन श्रोतको अभावमा समस्या भएको बताए ।
सूचना अधिकारी साहले भने, ‘थोरै जनशक्ति लिएर आगो निभाउने प्रयास भएपनि सम्भव भएको छैन । सामुदायीक वन उपभोक्ता समुहले चासो नराख्दा पनि नियन्त्रणमा समस्या भएको उनले बताए ।

गत बर्ष उदयपुरको करिब ७ हजार हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो । चुरे क्षेत्रका सामुदायिक तथा राष्ट्रिय वनमा गत बर्षपनि व्यापाक डढेलो लागेको थियो । अहिले पनि १ सय बढि सामुदायिक वनमा डढेलो लागेको छ । चुरे र महाभारत जंगलमा डढेलो लाग्दा बहुमुल्य जडिबुटी जलेर नष्ट भएका छन ।
उदयपुरकै त्रिवेणी डिभिजन कार्यालयका मातहतमा रहेका वनमा पनि डढेलो बढेको डिभिजन प्रमुख दानबहादुर श्रेष्ठले बताए । ‘कटारी त्रिवेणी क्षेत्रमा ५० देखि ६० हेक्टर वन सखाप भएको छ, बाटो भएको क्षेत्रमा कटारी नगरपालिकाको दमकल प्रयोग गरि नियान्त्रण गर्ने काम गरे पनि, डढेलो लागेको सूचना आउने क्रम जारी छ ।
चुरे क्षेत्रका विभिन्न भागबाट वन ढडेलो क्रमिक रूपमा बढ्दै गएको वन कार्यालय गाईघाट र त्रिवेणीको भनाइ छ । सम्बन्धित सामुदायिक वन समूहले समेत ढडेलो नियन्त्रणमा चासो नदेखाउँदा र सुख्खा मौसम भएकाले समस्या भएको कार्यालयको भनाइ छ ।
डढेलो लाग्नबाट बचाउन वन कर्मचारी, मातहतका कार्यालय र सामुदायिक वन समूहहरुलाई सचेत गराइएको गाईघाटका डिभिजन वन कार्यालयका सुचना अधिकृत साहले भने । सनिवार गाईघाटमा भएको सर्बपक्षिय भेलाले डढेलो नियन्त्रणमा सबै सम्यन्त्र परिचालन गर्ने निर्णय गर्दे गाउँगाउँ सचेतना जगाउने र माईकिङ गर्ने निर्णय गरि काम थालिएको सूचना अधिकृत साहको भनाई रहेको छ ।
डढेलो नियन्त्रण गर्न गएका वन रक्षक घाइते
उदयपुरको जोरपोखरी सामुदायिक वन उपभोक्ता समूहमा लागेको डढेलो नियन्त्रण गनएको अवस्थामा डिभिजन कार्यालय गाईघाटका वन रक्षक मानपुर राजधामी घाइते भएका छन् । उनको दाहिने आँखामा आगोको लप्काले सामान्य पोलेको बताए ।

वन रक्षकको अभाव
डिभिजन वन कार्यालय गाईघाट र डिभिजन वन कार्यालय त्रिवेणी गरी १६ वटा सव डिभिजनमा १ सय २८ जना मात्रै वन रक्षक रहेकोले आगालागी नियन्त्रण गर्न कर्मचारी अभाव रहेको सूचना अधिकृत जागेश्वर साहले बताए । प्रत्येक सव डिभिजनमा ८ जना वन रक्षक, एक जना फरेष्टर र एक जना अधिकृतको मात्रै दरबन्दी रहेको बताए । वन रक्षकको कमी र सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरुको वेवास्ताका करण वनमा लागेको डढेलो सोचेभन्दा बढी फैलिएको बताए ।


















