राजेन्द्र महतो, लहान । सिरहा जिल्लामा छुट्टाछुट्टै आगलागीमा परी दुई बालिका सहित तीन जनाको ज्यान गएको छ । शनिबार दिउँसो धनगढीमाई नगरपालिका १४ अमलीटार बस्ने दिपक धमलाको घरमा आगलागी हुँदा दुई बालिकाको मृत्यु भएको छ ।
आगलागीमा परि धमलाका ६ वर्षिया छोरी दीक्षा धमला र सोही गाउँको नित्यराज पोखरेलको ७ वर्षीया छोरी ऋतु पोखरेल जलेर ज्यान गएको छ । उनीहरु आगोले घरभित्रै रहेको अवस्थामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले जानकारी दिए । आगो के कारणले लागेको यस विषयमा अनुसन्धान भैरहेको डिएसपी थापाले जानकारी दिए ।

घरमा कोही नभएको समयमा खेल्दाखेल्दै घरसँगै जोडिएको गोठमा रहेको घुरबाट आगलागी हुँदा भाग्न नभ्याएर दुवै बालिकाको जलेर मृत्यु भएको हुन सक्ने वडाध्यक्ष ठरेन्द्रबहादुर राइले बताए। प्रहरीका अनुसार मृतक दुवै बालिकाको उमेर करिब पाँच/पाँच वर्ष रहेको छ। आगो स्थानीय र प्रहरीको सहयोगमा डेढ घण्टापछि नियन्त्रणमा आएको हो ।

त्यस्तै कल्याणपुर नगरपालिका ७ भेडिया टोलमा शुक्रबार राति खाना पकाउने क्रममा आगलागी हुँदा ५० वर्षीया बनारसी देवी सदायको मृत्यु भएको छ ।
सदायले परालले खाना पकाउँदै गर्दा अचानक साडीमा सल्केर आगलागी भएको थियो । घाइते अवसदायलाई उपचारको लागि कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा पुर्याइएको थियो । उनको उपचारको क्रममा शनिबार विहान ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया