
उदयपुर । प्रदेश नं १ को सरकारले उदयपुरको कटारी अस्पतालको स्तरोन्नति गर्ने भएको छ । कटारी अस्पतालमा रहेको १५ श्ययालाई वृद्धि गरेर गरेर ५० श्ययामा स्तरवृद्धि र सेवा सुविधा थप गर्ने कार्य सामाजिक विकास मन्त्रालयले शुरु गरेको छ ।
प्रदेश सरकार अन्तर्गत रहेका पहिलो चरणमा तीन जिल्लाका चार वटा अस्पतालमा ५० श्ययामा स्तरवृद्धि र सेवा सुविधा थप गरी सेवा प्रभावकारी बनाउन शुरु गरेको हो । मन्त्रालयले उदयपुरको कटारी अस्पताल, मोरङको रङ्गेली जिल्ला अस्पताल, मङ्गलबारेको स्वास्थ्य केन्द्र र झापाको दमक जिल्ला अस्पताललाई स्तरोवृद्धि गर्ने कार्य शुरु गरेको हो ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदयपुर, मोरङ र झापा अन्तर्गतका चार वटा अस्पतालको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरी कार्य अगाडि बढाइएको बताएका छन् । मन्त्री घिमिरेले श्यया थप गरी जनतालाई उपचारका लागि आवश्यक पर्ने विभिन्न सेवा तथा सुविधा सहजरुपमा पाउने गरी सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन् । हाल उक्त अस्पतालमा १५ श्यया रहेको छ ।
अस्पताल स्तरोन्नतिका लागि प्रत्येक जिल्ला अस्पतालका लागि प्रदेश सरकारले १ करोड ३० लाख रकम विनियोजिन गरिसकेको छ । मन्त्रालयले पहिलो चरणअन्तर्गत उक्त अस्पतालमा सेवा सुविधा उपलब्ध गराएकापछि प्रदेशअन्तर्गतका अन्य जिल्ला अस्पतालमा श्यया थप गरी विस्तार गरिने जनाएको छ ।









