
बिराटनगर । प्रदेश नं. १ अन्तर्गत झापा र सुनसरी जिल्लाबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । सुनसरीको बाराक्षेत्र नगरपालिका ६ बसपार्कमा र झापाको भद्रपुर नगरपालिका ९ घोडामारा चिया बगानमा एक जना गरी ३ जना लागूऔषधसहित पक्राउ परेको छ ।
बिहीबार सुनसरीको बरहाक्षेत्र नगरपालिका ६ बसपार्कमा राजाबासबाट चतरा तर्फ जादै गरेको मे.१ प.६७९२ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा लागू औषधसहित सोही नगरपालिका वडा नं. २ पुनर्वास बस्ने २७ वर्षिय सुरेस बिस्ट र पछाडी सवार सोही स्थान बस्ने ३४ वर्षिय कालु प्रसाद राईलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट चेकजाँचमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ । उनीहरु चढेको मोटरसाईकलको डिकीको भागमा लुकाई छिपाई ल्याएको ७ सय ६८ पिस स्पासमोप्रोक्सिबन क्याप्सुल सहित पक्राउ परेको हो । बरामद मोटरसाईकल र लागूऔषध सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा थप अनुसन्धान भईरहेको छ ।
यसैगरी झापाको भद्रपुर नगरपालिका ९ घोडामारा चिया बगानबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन । बिहिबार प्रहरी चौकी घोडामाराबाट गस्तीमा खटिएको प्रहरीको टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा स्थानीय ३० वर्षिय नरेन राजवंशी पक्राउ परेको थियो । पक्राउ परेको राजवंशीले शरिरका बिभिन्न भागमा लुकाइ छिपाइ राखेको कोरेक्स ४ बोतल, नाइट्रोजन ट्याब्लेट ६ सय ३० पिस, मोबाइल १ थान र नगद २९ हजार ६५० सहित प्रहरीले नियन्त्रणमा लिइएको थियो । लागुऔषध सहित पक्राउ परेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए ।









