उदयपुर । अन्तराष्ट्रिय वन दिवसको उपलक्ष्यमा त्रियुगा शान्तिधाममा वृक्षारोपण गरी सम्पन्न भएको छ । डिभिजन वन कार्यालय गाईघाटले बुधबार अन्तराष्ट्रिय वन दिवस २०७५ को उपलक्ष्यमा त्रियुगा शान्तिधाम गाईघाट परिषरमा वृक्षारोपण गरेर मनाएको हो । ‘वनलाई माया गरौं’ नारा सहित शान्तिधाम परिषरमा रक्तचन्दन, कपुर, विरेन्द्र बोल, फाइटर्स, एरिका पाम, आँप, लिपी लगायत ७७ वटा विरुवाको वृक्षारोपण गरिएको थियो ।
वनलाई बचाई पृथ्वीलाई हराभरा बनाएर राख्न आम सर्वसाधारणहरुलाई वन जोगाउन जागरुक गर्ने उद्देश्यले यस दिवस मनाउँदै आएको छ । विहिबार पर्ने दिवस फागु पुर्णे (होली)का कारण कार्यक्रम गर्न नसकिने भएपछि आयोजक डिभिजन वन कार्यालय गाईघाटले एक दिन अघि नै दिवसको तय गरेको हो ।
बृक्षारोपणको समय नभएकाले हालको लागि सांकेतिकरुपमा मात्र रोपिएको र बाँकी सुख्खा मौसम सकिएपछि रोपिने डिभिजन प्रमुख बिष्णुप्रसाद आचार्यले जानकारी दिए । उनले भने, ‘त्यसैपनि यो सिजन विरुवा रोपनको हैन्, झन यो ठाउँ बालुले भरिएको छ त्यसैले विरुवालाई हुर्काउन ठुलो खाडल खनेर आबश्यकअनुसार माटो र दैनिक पानी लगाउने प्रवन्ध मिलाइएको छ ।’
जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, त्रियुगा नगरपालिका प्रमुख, उपप्रुमख, प्रमुख जिल्ला अधिकारी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि लगायतले दिवसको अवसरमा विभिन्न प्रजातिका बोटविरुवा रोपेका थिए । सोअवसरमा बोल्दै उनीहरुले बोटविरुवा रोप्नु ठुलो नभई त्यसको दिगोपना ठुलो भएको बताए । उनीहरुले रोपेको विरुवालाई वातवरणिय हिसवाले पनि संरक्षण र सम्र्बद्धन गर्न बेलामौकामा हेरचाह, गोडमेल, पानी लगाउने जस्ता कार्यलाई निरन्तरता दिनु पर्ने सुझाब दिए ।
यस्तै त्रियुगा शान्तिधामको विकासको लागि त्रियुगा नगरपालिकाले ५० लाख रकम विनियोजन गर्ने प्रतिववद्धता मेयर बलदेव चौधरीले गरेका थिए । यस्तै दिवसकै अवसरमा त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरी र त्रियुगा नपा १२ निवासी हेम कुमार राईले त्रियुगा शान्तिधामको आजिवन सदस्यता लिएका थिए । वृक्षारोपण कार्यक्रममा उपस्थितहरुले त्रियुगा शान्तिधामका विभिन्न गतिविधि समेतको अवलोकन गरिएको डिभिजन वन कार्यालय उदयपुरका सूचना अधिकारी जागेश्वर साहले जानकारी गराए ।
वृक्षारोपण कार्यक्रममा शान्तिधाम समितको तर्फबाट उपस्थित सबैलाई अबीर लगाई होलीको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
संयुक्त राष्ट्र महासभा सन् २०१२, २१ डिसेम्बरमा बसेको बैठकले प्रत्येक वर्ष मार्च २१ लाई अन्तराष्ट्रिय वन दिवस मनाउने निर्णय गरेसँगै सन् २०१३ सन २०१३ बाट औपचारिकरुपमा मनाउन सुरु गरिएको हो । कार्यालयले सदरमुकाम गाईघाटमा बृक्षारोपण गरि मनाएको छ भने मातहतका निकाय र सामुदायिक वन समुहहरुलाई जंगल संरक्षण सम्बन्धि विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउन परिपत्र गरेको सूचना अधिकारी तथा सहायक वन अधिकृत जागेश्वर साहले जानकारी दिए ।
डिभिजन वन कार्यालय उदयपुरको आयोजना र जिल्ला समन्वय समिति उदयपुरको समन्वयमा भएको कार्यक्रममा त्रियुगा शान्तिधामको सहकार्यमा मनाइएको थियो ।