
उदयपुर । त्रियुगा शान्ति धामलाई दाउराको डिपो सञ्चालन गर्न नयाँ जनप्रेमी सामुदायिक वन उपभोक्ता समुहले १ लाख रुपैया सहयोग गरेको छ । त्रियुगा नगरपालिका– ३ स्थित त्रियुगा शान्ति धाम परिषरमा आर्यघाटलाई आवश्यक पर्ने दाउरा डिपो मार्फत सहज रुपमा उपलब्ध गराउन उक्त रकम सहयोग गरेको हो ।
त्यसका लागि नयाँ जनप्रेमी सामुदायिक वन उपभोक्ता समुह त्रियुगा नगरपालिका– १४ साउनेका अध्यक्ष तथा सामुदायिक वन महासंघ उदयपुरका उपाध्यक्ष बेदबहादुर राईले १ लाख रुपैया सहयोग गरेका हुन् । सो सहयोग रकमबाट त्रियुगा शान्ति धामले नजिकको सामुदायिक वनबाट दाउरा खरिद गरि आयघाटमा डिपो सञ्चालन गर्ने तयारी गरेको शान्ति धामका आजिवन सदस्य जागेश्वर साहले जानकारी दिए । यसलाई नमूना पार्कको रुपमा बिकास गर्न बिभिन्न योजना बनाईने राखेका छौं साहले भने । यसको गुरु योजना बन्दैछ ।
त्रियुगाको बगरलाई धामका रुपमा बिकास गरि हरियाली पार्क बनाएकोमा खुशी ब्यक्त गर्दै यसलाई अझै प्रभावकारी र दिगो बनाउन आफुले सहयोग गरेको सामुदायिक वनका अध्यक्ष राईले बताए । उनले भने, ‘यस्तो पुन्य कार्यमा सहयोग गर्न पाएकोमा आफुलाई सुखि लागेको छ ।’
यहाँ लास लिएर घण्टै दाउराको प्रतिक्षामा बस्नु पर्ने बाध्यताको अत्य गर्न आफुले सानो सहयोग गरेको अध्यक्ष राईको भनाई रहेको छ । यसलाई दिगोपना दिन सामुदायिक वन महासंघ उदयपुरको तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ अध्यक्ष राईले । प्राप्त गरेको सहयोग रकमबाट दाउरा खरिद गरि आयघाटमा नै काटा राखि सर्बसुलभ दरमा दाउरा उपलब्ध गराउने उदेश्य रहेको साहको भनाई रहेको छ ।
त्रियुगा शान्ति धामका अध्यक्ष तथा पण्डित गिरिराज खतिवडाले आर्यघाटमा दाउरा अभावमा लास ल्याएर पनि घण्टौ दाउराको प्रतिक्षा गर्नु पर्ने अवस्थाको अन्त्य हुने भएको छ । शुभ कार्यको लागि यसरी सहयोग गर्ने समुह तथा समुहका उपभोक्ता सबैलाई हार्दिक कृतज्ञ गर्दछु अध्यक्ष खतिवडाले भने । सहयोग गर्ने अध्यक्ष राईलाई त्रियुगा शान्ति धाम परिषरमा अध्यक्ष खतिवडाले सम्मान गरेको थियो ।










