उदयपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटारी नगरपालिका उदयपुर तथा माई नगरपालिका ईलामका तत्कालिन लेखा अधिकृत रबिनचन्द्र ढकाल विरुद्ध ७ करोड २२ लाख ९३ हजार १ सय ३२ रुपैया बिगो दाबी सहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उदयपुरको कटारी नगरपालिकामा कार्यरत हुँदा ढकालले नगरपालिकाको मूल खाताबाट आफ्नो खातामा ३ करोड ९७ लाख ५० हजार रकम स्थानान्तरण गरी आफू लगायत विभिन्न व्यक्तिका नाममा रकम निकाली भ्रष्टाचार गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।
लेखा अधिकृत ढकालले पहिलो पटक १ करोड ९८ लाख ७५ हजारका दोश्रो पटक १ करोड ९८ लाख ७५ हजार गरि ३ करोड ९७ लाख ५० हजार रुपैया आफनो नाममा रहेको खातामा हालेका ढकालले राष्ट्रिय वाणिज्य बैंक थापाथली शाखाबाट पटक–पटक गरी २७ लाख बाहेक सबै रकम निकाली सकेका थिए ।
ढकालको खातामा रहेको सो रकम गएको २०७४ चैत्र २ गते गोविन्द नामको व्यक्ति मार्पmत १ करोड ५० लाख र चैत्र ५ गते हर्कबहादुर नामको व्यक्ति मार्पmत १७ लाख निकालेको पाईएको बैंकका कटारी शाखाले जानकारी दिए ।
लेखा अधिकृत ढकालले ईलामको माई नगरपालिकामा कार्यरत रहदा समेत नगरपालिकाको रकम आफनो निजी खातामा रकमान्तर गरेको अख्तियारको दावी छ । ढकालले प्रमुख प्रशासकिय अधिकृतको किर्ते हस्ताक्षर गरि ३ करोड ९ लाख ६० हजार ६ सय ९४ रुपैया हिनामिना गरेको अख्तियारको दावी छ । उनले ईलाममा रहदा सामाजिक सुरक्षाको यतिका ठुलो रकम बोकेर लैजान नसक्ने भन्दै बैकलाई धम्क्याएर जबजस्ती आफनो निजी खातामा रकमान्तर गराएको अख्तियारले दावी गरेको छ ।
यस्तै ढकालले जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा लेखा अधिकृतको रुपमा कार्यरत रहँदा समेत अनियमितता गरेको अख्तियारको ठहर छ । राष्ट्रिय वणिज्य बैंक र एन.एम.बी. बैंक लिमिटेडका खाताहरुमा स्वास्थ्य कार्यालयको विभिन्न मिति र च.नं. का पत्रहरूमा कार्यालयमा रहने प्रति र बैंकलाई पठाउने प्रतिमा व्यहोरा फरक फरक भएका गलत लिखत तयार पारी १४ लाख ८९ हजार ३ सय छ रुपैया सरकारी रकम बदनियतसाथ अनधिकृतरुपमा व्यक्तिगत खातामा जम्मा गरी गराई निजी प्रयोगमा लगाई हिनामिना, हानि नोक्सानी गरी भ्रष्टाचार गरेको अख्तिायरको ठहर सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।









