उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाकाले जनप्रतिनिधिहरुको सवारी साधनका लागि छुट्ट्याइएको बजेटबाट जनताको लागि सवारी साधन खरिद गर्ने निर्णय गरेको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुमा जनताको सेवा भन्दा आफ्नो सेवा सुविधा बृद्धि गर्ने प्रबृद्धि बढिरहेको बेला यस गाउँकार्यपालिकाको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि सो गाउँपालिकाको चौँथो सभाले जनप्रतिनिधिहरुका लागि सवारी साधनका लागि ५७ लाख ७१ हजार विनियोजन गरेको थियो । तर, गाउँ कार्यपालिकाले जनप्रतिनिधिका लागि होइन, सर्वसाधारणले प्रयोग गर्न सक्ने गरी दुई वटा यात्रुबाहक बस किन्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष मेजर राईले बताए ।
‘यो निर्णयका कारण स्थानीय सरकारबाट जनताले थोरै भएपनि सुविधा पाउँछन’ उनले थपे, ‘यसबाट गाउँपालिकाको अनावस्यक खर्च घट्छ, गाउँपालिकालाई आम्दानी पनि हुन्छ ।’
‘विद्यार्थी अपाङ्गलाई सहुलियत भाडा तोक्ने छौं भने जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएकालाई निःशुल्क सेवा दिने छौं ।’ उनले भने, ‘यो निर्णय एतिहासिक र जनपक्षिय निर्णय गरेको छ ।’
‘हामी जनताको सेवाका लागि निर्वाचित भएर आएका हौँ’ मेजरले भने, ‘त्यसैले, त्यो रकम यात्रुबाहक बस किन्ने निर्णय ग¥यौँ ।’ यात्रुबाहक बस निर्माणाधीन गाईघाट–लिम्चुङबुङ–हलेसी सडकखण्डमा सञ्चालन हुने छ ।
‘यसअघि बजेट बिनियोजन गरिएदेखि नै हामी आफैलाई अप्ठेरो लागिरहेको थियो’ राईले भने, ‘त्यसैले, जनप्रतिनिधिका लागि होइन, जनताका लागि बस किन्ने निर्णय ग¥यौँ ।’
यस्तै रौतामाई गाउँपालिकाका राजनितिज्ञ ईश्वर मगरले लिम्चुङबुङले सार्वजनिक बस खरिद गर्ने भनि गरेको निर्णयको स्वागत गरे । ‘लिम्चुङबुङबासीको लागि यो सुखद समाचार हो, सबै पालिकाहरुले लिम्चुङबुङको सिको गरेर सर्वसाधरणलाई सेवा दिन आवश्यक छ ।’ मगरले भने ‘गाडी खरिद गर्ने लोकप्रीय काम त छदै छ अब त्यस गाडी गुड्नलाई १२ महिना नै चल्न सक्ने सडक बनाउन सुझाव दिन चाहान्छु ।’
यस अघि गाउँपालिकाको विकास निर्माणको कार्य गर्नका लागि गाउँपालिकाले आफ्नै स्काईभेटर खरिद गरेका थिए । उक्त स्काईभेटर १ करोड १२ लाखमा खरिद गरेको थियो ।
गाउँपालिका अध्यक्ष मेजर राईको फेसबुक स्टाटस्
हिजो बसेको लिम्चुङबुङ गाउँकार्यपालिकाको बैठकले एक एेतिहासिक र जनपक्षिय निर्णय गरेको छ। गाउँपालिकाको जनप्रतिनिधि हरूले…
Posted by मेजर राई on Sunday, 17 March 2019









