
उदयपुर । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बुधबार विहान सप्तरीको सुरुङ्गा नगरपालिका ५ स्थित कुशहामा तिर्थालु बस दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै ज्यान गएको छ भने उदयपुरका तिर्थालु १३ जना घाइते भएका छन् ।
उदयपुरको बेलका नगरपालिका ९ स्थित रामपुर ठोक्सिलाका सहयोगी साकोसद्वारा जेष्ठ नागरिकहरु तिर्थ यात्रा भ्रमणका जनकपुर हिँडेको को. १ ख ४९३४ नम्बरको बसले सप्तरीको कुशहामा विपरित दिशाबाट आउँदै गरेको को. ३४ प ६४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बस अनियन्त्रित भई सुरुङ्गा खोलामा पल्टिएको थियो ।
बसको ठक्करबाट सुरुङ्गा नपा ५ का मोटर साइकल चालक ३५ वर्षिय रामे पासवान र पछाडी सवार ५० वर्षिय मो. महदुरको घटना स्थलमै मृत्यु भएको थियो ।
बसमा सवार बेलका नगरपालिका रामपुर ठोक्सिलाका ६५ वर्षिय सुमित्रा श्रेष्ठ गम्भिर घाइते भएका छन् । श्रेष्ठको बाया साइडको कम्मरको हड्डी भाँचिएको छ । यस्तै ७५ वर्षिय छत्र बहादुर कार्कीको छाती र कानमा चोट लागेको छ भने ७५ वर्षिय पदम बहादुर विष्टको कुम भाचिएको छ । साथै ७२ वर्षिय रत्न बहादुर कार्की, देवीमाया बस्नेत, लाल बहादुर थापा, रत्नमाया श्रेष्ठ, ७७ वर्षिय बल बहादुर विष्ट घाइते भएर सप्तऋषि अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि धरान विपी कोइराला विज्ञान प्रतिष्ठान उपचारको लागि रेफर गरिएको सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिए ।
यस्तै घाइते हुनेहरुमा वेलका न.पा.९ का ७८ वर्षिय गोविन्द बहादुर वस्नेत, ७५ वर्षिय दिल कुमारी पोख्रेल, ९६ वर्षिय वुद्धीमाया वि.क., ७५ वर्षिय जगमाया खड्का, ७५ वर्षिय बालिका वस्नेत रहेका छन् । उनीहरु सप्तऋषि अस्पताल लहानमा उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।
यस्तै सहयोगी साकोसका सदस्य गणेश बस्नेतले घाइते मध्ये आठ जनालाई थप उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएको बताए । बसमा तिर्थालु ३८ जना सबार रहेको बस्नेतले जानकारी दिए ।









