काठमाडौं । यतिबेला भारतमा लोकसभा चुनावको सारगर्मी बढिरहेको छ। चुनावी प्रतिस्पर्धामा रहेका दलहरुले आ-आफ्नो प्रचार गरिरहेका छन्। साथै अन्य दलमाथि घोचपेच, व्यंग्य गर्ने क्रम पनि तीव्र बनाइरहेका छन् ।  यसैक्रममा भारतकी एक नेतृले प्रधानमन्त्री मोदीमाथि घुमाउरो व्यंग्य गर्दै नेपालबारे विवादास्पद अभिव्यक्ति दिएकी छिन्।

दिल्ली विधानसभाकी विधायक तथा आम आद्‍मी पार्टीकी नेतृ अल्का लम्बाले मंगलबार बिहान ट्विट गर्दै नेपाली भारतका इमानदार चौकीदार हुन् भन्ने आशय व्यक्त गरेकी छिन्।

उनले ट्विटमा यसपालीको लोकसभा चुनावमा भारतीय जनतालाई चौकीदार नभइ प्रधानमन्त्री चुन्न आग्रह गरेकी छिन्। उनले लेखेकी छिन्, ‘चौकीदार त नेपालबाट पनि ल्याउन सकिन्छ। नेपालका चौकीदार चोर हुँदैनन्।’

उनको अभिव्यक्तिमा मोदीलाई इमान नभएका चौकीदारसँग तुलना गरिएको छ। एकातिर उनले भारतमा नेपालीको हैसियत चौकीदार बन्ने मात्र रहेको भनी अपमानित गर्न खोजेकी छिन् भने अर्कोतर्फ उनले नेपाली इमानदार हुन्छन् भनेर प्रसंशा  गर्न खोजेजस्तो पनि देखिन्छ ।

विद्यार्थी राजनीतिबाट चर्चित बनेकी नेतृ अल्का भारतीय राष्ट्रिय कांग्रेसको राजनीति हुँदै पछिल्लो समय आम आदमी पार्टीबाट राजनीतिमा सक्रिय छिन्।

तपाईको प्रतिक्रिया