फाइल तस्विर

उदयपुर ।  पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह बिरामी भएपछि स्थागित भएको पूर्वराजा ज्ञानेन्द्र शाहको जिल्ला भ्रमण तालिका सार्वजनिक भएको छ । सोमबार पूर्वराजाका प्रेस संयोजक फणि पाठकले तराईका जिल्ला भ्रमणसम्बन्धी कार्यक्रम सार्वजनिक गरेका हुन् ।
देश दौडाहाको क्रममा रहेको पूर्व राजा ज्ञानेन्द्र शाह उदयपुर चैत्र २ गते आउने भएको छ । तराईका जिल्लामा व्यक्तिगत तथा धार्मिक भ्रमणमा निस्कन लाग्नु भएका पुर्व राजा ज्ञानेन्द्र शाहले चैत्र २ गते राधाकृष्ण मन्दिरमा १ः३० बजे धार्मिक पुजापाठ गर्ने कार्यक्रम रहेको पुजा अर्चना समितिका प्रचार प्रसार संयोजक धुर्व रायमाझीले जानकारी दिए । राधाकृष्ण मन्दिर, भगवति मन्दिर र राधा माधव समितिको संयुक्त आयोजनामा राधाकृष्ण मन्दिर परिषरमा पूर्व राजा शाहले पुजा अर्चना गर्ने कार्यक्रम रहेको प्रचार प्रसार समितिका संयोजक रायमाझीले जानकारी दिए ।
पूर्व राजाको सवारीको लागि मेन चौक देखि सेतो पुलसम्म पैदल यात्राको कार्यक्रम रहेको छ भने भगवति मन्दिर हुँदै राधा कृष्ण मन्दिरसम्म लैजाने कार्यक्रम रहेको प्रचार प्रसार समितिकासंयोजक रायमाझीले जानकारी दिए ।
यही फागुन २९ गतेदेखि तराईका दर्जन बढी जिल्लामा भ्रमण गर्न निस्कन लाग्नु भएका शाह चैत्र २ गते उदयपुर आउने भएपछि यहाँस्थित स्थानीयबासी, राष्ट्रवादी संघ, संस्था तथा राजावादी विभिन्न संगठनले स्वागतको भव्य तयारीमा जुटेको छ ।
लामो समयपछि पुर्व राजा शाहको दर्शन गर्न पाउने भएपछि स्थानीय नागरिक हर्षित भएका छ्न । राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा शाहको स्वागतको लागि उदयपुरमा भव्य तयारी थालिएको प्रचार प्रसार समिति संयोजक रायमाझीले जानकारी दिए । उनले भने, ‘राजासँग नागरिक वा संस्थागत भेटघाट गर्न चाहनेले चैत्र १ गते १ बजेसम्म समितिमा सम्पर्क गरी नाम टिपाउन अनुरोध गर्दछु । पूर्व राजा शाह उदयपुरमा करिव २ घण्टासम्म रहने कार्यक्रम तय भएको छ ।’
कार्यक्रममा सहभागी भई स्वागत र शाहको दर्शनभेट कार्यक्रममा सरिक हुन सम्पूर्ण राष्ट्रप्रेमी नेपाली जनतामा आव्हान गरिएको संयोजक रायमाझीले बताए । धार्मिक भ्रमणसंगै उहाँले राजनितिक भेटघाट गर्ने हुनुभएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार २९ गते जनकपुर पुगेर राजनीतिक भेटघाट गर्ने त्यसको भोलि पल्ट ३० गते सर्लाहीको मलङ्गवा जाने कार्यक्रम तय भएको छ । ३० गते मलङ्गवा पुगेपछि चैत्र १ गते पुनः जनकपुरमा पुजापाठको कार्यक्रम तय भएको छ । चैत्र २ गते उदयपुर पुगेर विभिन्न धार्मिक कार्यक्रममा सरिक भएपछि चैत्र ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ ।
मुलुकमा राजतन्त्र सहितको हिन्दु अधिराज्यको चर्को आवाज उठिरहेको बेला शाहको मध्य तराई क्षेत्रहरूमा हुन लागेको भ्रमणलाई महोत्वका साथ हेरिएको छ ।
ज्ञानेन्द्र शाहको मधेश भ्रमण धार्मिक भनिएपनि उनले त्यहाँको जनमत समेत बुझ्ने बताइएको छ । अनपेक्षित रुपमा मधेसको राजनीतिक अवस्था परिवर्तन भइरहेको बेला त्यसप्रति उनले मधेशी जनताको धारणा बुझ्ने मनसाय राख्नुलाई महत्वका साथ हेरिएको छ ।
पूर्वराजाले यसअघि पनि पटक पटक मधेसका विभिन्न जिल्लाको भ्रमण गर्दै आफ्ना समर्थकहरुसँग भेटघाट गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया