
काठमाडौं । ११ बुँदे सहमति भएको दुई दिन नबित्दै जनअभिमतलाई सरकार र सिके राउत पक्षले आ–आफ्नो तरिकाबाट व्याख्या गरेका छन् । सरकारले जनअभिमतलाई मध्यावधिक निर्वाचनका रूपमा व्याख्या गरेको छ भने राउत समूहले जनमत संग्रहका रूपमा व्याख्या गरेको छ । सौर्य दैनिकमा समाचार छ ।
सरकारका तर्फबाट सम्झौता गर्ने गृहमन्त्री रामबहादुर थापा बादलले दोस्रो बुँदामा उल्लेख गरिएको कुरा जनमत संग्रह नभएको बताए । उनले जनमत संग्रहको रूपमा अर्थ लगाइएको भन्दै त्यसमा सत्यता नभएको दाबी गरे । यस विषयमा सिके राउतले नै आधिकारिक रूपमा बाहिर केही बोलेका छैनन् । यद्यपि, उनले सहमति घोषणा कार्यक्रममै जनमत संग्रहको कुरा भने निकालेका थिए । समूहका केन्द्रीय सहसंयोजक कैलाश महतोले सरकारले जनमत संग्रह गराउन स्वीकार गरिसकेको दाबी गरे ।
दुवै पक्षबीच यसरी एउटै शब्दको दुई अर्थमा व्याख्या भएपछि सहमति नै संकटमा पर्ने देखिएको छ । ‘नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेसलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरूलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौँ’,सहमतिको दोस्रो नम्बर बुँदामा उल्लेख छ । यही विषयलाई लिएर सबैले आपत्तिसमेत जनाएका छन् । नेपाल कम्युनिस्ट पार्टीभित्रै केही नेताले यसलाई देशकै शिर निहु¥याउने काम सरकारले गरेको भनेर संसद्मै कुरा उठाएका छन् ।
जनमत संग्रह भ्रामक कुराः गृहमन्त्री
११ बुँदे सहमतिका विषयमा सांसदले प्रश्न उठाएपछि सरकारले संसद्मा यस विषयमा जानकारी गराएको छ । सरकारका तर्फबाट गृहमन्त्री एवं हस्ताक्षरकर्ता थापाले जनमत संग्रहको कुरा काहीँ पनि उल्लेख नगरेको स्पष्ट पारेका छन् ।
जनमत संग्रह नै हुने होः राउत समूह
स्वतन्त्र मधेस गठबन्धनका केन्द्रीय सहसंयोजक कैलाश महतोले जनमत संग्रह गर्ने गरी नै सरकारसँग सहमति भएको दाबी गरेका छन् । नेपालको लोकतान्त्रिक शासन व्यवस्था र विधिलाई नै मान्दै जनमत संग्रहमार्फत मधेस आजाद हुने रणनीति तथा कार्यनीतिअनुसार गठबन्धनका संयोजक डा। सिके राउतले नेपाल सरकारसँग सम्झौता गरेको उनले दाबी गरे । आपूmहरूको मागमा सरकारले जनमत संग्रह गराउने स्वीकार गरिसकेकाले पनि आपूmहरूको जित भइसकेको उनको भनाइ छ ।
राउतले सडकमै उतारे सुरक्षादस्ता
सरकारसँग सहमति गरेर जनकपुर पुगेका राउतका कार्यकर्ताले स्वतन्त्र मधेसका पक्षमा नाराबाजी गरेका छन् । उनीहरूले विगतमा जस्तै स्वतन्त्र मधेसको नारा लगाएका हुन् । सहमति गरेर जनकपुर पुगेका राउतलाई स्वागत गर्न बसेका कार्यकर्ताले ‘मधेस देश लेके रहेंगे’ भन्दै नाराबाजी गरेका हुन् ।









