जनकपुर । सिके राउतले सरकारसँग गरेको ११ बुँदे सम्झौताको उल्लंघन गरेका छन् । शुक्रबार सरकारसँग ११ बुँदे सम्झौता गरेर पृथकतावादी गतिविधि त्यागेको बताइए पनि स्वतन्त्र मधेस गठबन्धका कार्यकर्ताले संयोजक सिके राउतलाई ‘स्वतन्त्र मधेस’ लेखिएको झण्डा देखाएर जनकपुरमा स्वागत गरेका हुन् ।
आइतबार दिउँसो काठमाडौंबाट जनकपुर पुगेका राउतलाई उनका समर्थकले विमानस्थलमा पुरानै झण्डा देखाएर स्वागत गरेका हुन् । राउतलाई विमानस्थलमा स्वागत गर्न पुगेका झण्डै तीन सय कार्यकर्ताले ‘फ्रि मधेस’को ब्यानरर र ज्याकेट लगाएका थिए ।
सरकारसँग ११ बुँदे सहमति गर्दै विखण्डनकारी गतिविधि त्यागेको घोषणा गरे पनि त्यसको अवज्ञा गर्दै राउतका कार्यकर्ता स्वतन्त्र मधेसका लागि तयार पारिएको सामाग्री प्रयोग गरेका हुन् । सरकारसँग भएको सम्झौताको ६ नम्बर बुँदामा स्वतन्त्र मधेस गठबन्धनका लागि तयार पारिएको सामाग्री प्रयोग नगर्ने उल्लेख छ ।
साथै बुँदा नम्बर ६ मा भनिएको छ, ‘स्वतन्त्र मधेस गठबन्धन तथा यसका नेता कार्यकर्ताद्वारा यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताब, पर्चा पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाइन सामाग्री आदिलाई भविष्यमा कारबाहीको विषय बनाइने छैन । आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकुलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन ।
यसअघि राउतले सरकार स्वतन्त्र मधेसको विषयमा जनमत संग्रह गर्न तयार भएको दाबी गरेका थिए । सम्झौताको २ नम्बर बुँदामा उल्लेख भएको जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट तराई मधेसमा देखिएको असन्तुष्टिलाई समाधान गरिने भन्नुको अर्थ जनमत संग्रह भएको उनको दाबी थियो । तर आइतबार सम्झौताबारे संसदलाई जानकारी गराउँदै गृहमन्त्री राबहादुर थापा बादलले ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’को अर्थ जनमत संग्रह नभएको जिकिर गरेका छन् । उनले ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को अर्थ जनमत संग्रह लगाउने हो भने ११ बुँदे सम्झौता तोडिने चेतावनी दिएका छन् ।


‘एशियाको नयाँ मुलुक मधेश’
सिके राउतको स्वागतमा एशियाको नयाँ मुलुक मधेश हो भन्नेको व्यानर देखिएका थिए । ‘मधेश इज न्यू कन्ट्री इन एशिया’ लेखेको व्यानर पनि स्वागतमा प्रयोग भएको पाइएको थियो । यो व्यानर ११ बुद्धे सहमति विपरित प्रयोग भएको पाइएको छ ।


मास्क लगाएका सुरक्षा गार्ड
राउतको सुरक्षाका लागि भन्दै गार्ड समेत प्रयोग गरिएको छ । राउत विमानस्थलमा आइपुगनु अघि नै त्यहाँ पुगेका उनीहरुले बुलेट फ्रुफ ज्याकेटसँगै मास्क लगाएका थिए । उनीहरुले टाउकोमा रातो कपडा र स्वतन्त्र मधेस गठबन्धनको झण्डा बाँधिएको, आँखामा चश्मा लगाइएको र मास्कले मुख छोपेका छन् ।
उनीहरुले सिके राउतसँग प्रतिकृया लिन र फोटो खिच्न गएका पत्रकारहरुलाई समेत रोकेका थिए । उनीहरु कहाँबाट र किन ल्याइएका हुन् ? भन्ने कुरा खुलेको छैन ।
यद्यपि स्वतन्त्र मधेस गठबन्धनका नेताहरुले राउतको अघिपछि भीडभाड हुन नदिन गार्डहरु खटिएको प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया