काठमाडौं । सर्वोच्च अदालतले सरकारले गरेको सरुवा कार्यान्वयन गर्न रोक लगाएपछि उपसचिव प्रेमप्रसाद सञ्जेलले पुनः श्रम कार्यालय विराटनगर प्रमुखको कार्यभार सम्हालेका छन् ।
बुधबार विहान पौने दश बजे कार्यालय पुगेर उनले पुनः कार्यालय प्रमुखको कार्यभार सम्हालेका हुन् । गत असोज ११ गते उनी श्रम कार्यालय विराटनगरमा प्रमुखको रुपमा पुगेका भएका थिए ।
उक्त कार्यालयमा प्रमुखको रुपमा हाजिर गरेको ७० दिनमै उनीको सरुवा गरिएको थियो ।
सरुवाको विरोधमा सञ्जेलले सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै मुद्दा दायर गरेका थिए । सर्वोच्चले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव सञ्जेलको सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न गत शुक्रबार अन्तरिम आदेश जारी गरेको थियो ।
बुधबार पुनः कार्यालयमा हाजिर हुँदै सञ्जेलले तीन कामलाई प्राथमिकता तोकेका छन् । श्रम स्वीकृतिका लागि काम हुँदा हुने ढिलासुस्ती, घुसखोरी र अतिरिक्त शुल्क लिने काम रोक्ने उनले बताएका छन् । उनले बिचौलियालाई आफ्नो कार्यालय प्रवेशमा रोक लगाउनेसमेत बताएका छन् ।









