उदयपुर । राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुको बन्दले उदयपुरमा ५२ हजार विद्यार्थीहरुको पठन पाठन प्रभावित भएका छन् । विद्यालय बन्दले शैक्षिक सत्रको अन्तिम अवस्था तथा वार्षिक परीक्षा नजिक आएका अवस्थामा उदयपुरका आट वटै तहमा गरी समुदायिक विद्यालयका ५२ हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूले आफ्नो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा मंगलबार बन्द गरेको हो । राहत तथा बालविकास केन्द्रमा कार्यरत शिक्षकहरुले स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै सोमबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । सोही विरोधमा पठनपाठन बन्द गरेका हुन् ।
शिक्षको आन्दोलनका कारण मंगलबार बिहानैदेखि उदयपुरका सामुदायिक विद्यालय पूर्णरुपमा बन्द भएका छन् । बन्द सफल बनाउन जिल्लामा रहेका सबै सामुदायिक विद्यालय, सबै शिक्षक संघ संगठनलाई पत्राचार गरिएको नेपाल राहत शिक्षक संघ, उदयपुर जिल्ला कार्यसमितिका सचिव केशव पोखरेलले बताए । उदयपुर जिल्लामा ८ सय १८ राहत तथा करिव ८० भन्दामाथि बाल विकास केन्द्रमा कार्यरत शिक्षक छन् । गत असोज २२ मा राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकसँग भएको सम्झौता कार्यान्वयनमा नल्याएपछि आफूहरू आन्दोलनमा गर्न बाध्य हुनु परेको सचिव पोखरेलले बताए ।
उनले मोवाइल मार्फत उदयपुर जिल्लाबाट ५५० भन्दा बढी राहत र बाल विकास केन्द्रका शिक्षकहरु काठमाण्डौंमा आन्दोलनमा रहेको बताए । उनले ११ वटा बस र १५ भन्दा बढी मोटर साइकलबाट काठमाण्डौं आएको बताए ।
आफूहरूलाई स्थायी प्रक्रियामा लैजानु नपर्ने, स्थायीका लागि विज्ञापन गर्दा एक पटकका लागि उमेर हदबन्दी कायम राख्न नहुने र संघीय शिक्षा ऐनको मस्यौदामा राहत शिक्षकका समस्या सम्बोधन गर्नुपर्ने माग गर्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति सचिव पोखरेलले संघीय शिक्षा ऐनको प्रस्तावित विधेयकमा राहत कोटालाई दरबन्दीमा रूपान्तरण गर्ने र आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गर्नुपर्ने माग आफूहरूले राख्दै आए पनि सरकारले सुनुवाइ नगरेको बताए ।









